PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

छिमेकीको कुटपिटबाट विकको मृत्यु भएपछि परिवार बिचल्लीमा



पहिलोपोस्ट

  • रामबहादुर थापा
बागलुङ : जिल्लाको मल्म–९ झिर्काका खिमबहादुर विकको छिमेकीको कुटपिटबाट मुत्यु भएको भन्दै परिवारले न्यायको माग गरेका छन्।
 
परिवारका सदस्यले सोही स्थानका २३ वर्षीय दीपक विकले आपसी विवादमा निर्मम ढङ्गले कुटपिट गर्दा मुत्यु भएको जाहेरी प्रहरीमा दिएका छन्। कात्तिक १५ गते पटकपटक गरी भएको कुटपिटका कारण श्रीमानको मृत्यु भएको श्रीमती सुशीला विकले बताइन्।
 
कुटपिटपछि विस्तरामा सुतेका खिमबहादुर कात्तिक १६ गते बिहान भुइँमा मृत अवस्थामा भेटिएका थिए। १५ गते दिउँसो दीपकको घरमा मह काड्ने र बाख्रा किनबेचको सल्लाह गर्न पुगेका खिमबहादुर र दीपकबीच झगडा उत्पन्न भएको थियो। खिमबहादुरलाई दीपकले कोदालाको बिडले हानेको सँगै गएकी १३ वर्षीया छोरी आरती विकले बताइन्।
 
खिमबहादुरको परिवारका अनुसार दीपकले पछि पनि घरमै आएर कुटपिट गरेका थिए। 'घरमा आएर लात्तीलात्तीले कुट्यो, हामीले कति बिन्ती गर्‍यौं, उसले सुनेन,' मृतककी पत्नी सुशीलाले भनिन्, 'पछि उसको घरबाट आमा र बैनी आएर छुट्टाएर लगे, उहाँ घरमै अचेत अवस्थामा झैँ गरी सुतिराख्नुभएको थियो, भोलिपल्ट बिहान भुइँमा लडेको अवस्थामा भेटिनुभयो।'
 
आरोपित दीपक विकलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ। अदालतबाट म्याद थपी आरोपित व्यक्तिमाथि छानबिन चलिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
 
खिमबहादुरको मृत्युपछि परिवार बिचल्लीमा परेको छ। श्रीमती, चार छोरी र एक छोरासहितको परिवार धान्दै आएका खिमबहादुर पेसाले ट्र्याक्टर चालक रहेका थिए।

दुःखजिलो गरेर जीविका गर्दै आएका विकको परिवारमा ठूलो बज्रपात परेको छ। एकातिर न्याय पाइने हो कि होइन र अर्कोतिर परिवार कसरी चलाउने भन्ने चिन्तामा विक परिवार रुमल्लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell