काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीले आयोजना गर्ने प्रतियोगितामा पहिलो पटक फाइनल पुगेको नेपालले मंगलबार एएफसी सोलिडारिटी कपको उपाधिका लागि मकाउसँग खेल्दैछ।
प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले फाइनल पुग्दै आफूलाई उपाधि नजिक पुर्याएको छ।
कुल ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल र मकाउ दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। नेपाल ३ टोली सम्मिलित समूह एको विजेता तथा मकाउ समूह बीको विजेता बनेको थियो।
यस्तै दुवै टोलीले सेमिफाइनलमा कठिन चुनौती पार गर्दै फाइनल प्रवेश गरेको हो। नेपालले पहिलो सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३-० ले हराएको थियो भने मकाउले ब्रुनाईलाई पेनाल्टी सुटआउटमै ४-३ ले हराएको थियो।
समूह चरणमा कुनै गोल नखाएको नेपालले सेमिफाइनलमा लाओसविरुद्ध २ गोल बेहोरेको हो। फाइनलसम्म पुग्ने क्रममा नेपालले कुल ५ गोल गर्दा २ गोल बेहोर्यो। मकाउले ८ गोल गरेको थियो भने ४ गोल बेहोरेको थियो।
फाइनलअघि नेपालका प्रशिक्षक ग्योतुकु कोजीले मकाउविरुद्ध जित हात पार्दै उपाधि जित्ने बताएका छन्। 'मलाई लाग्दैन यो सजिलो छ तर हामीले जित्ने सम्भावना पनि छ', कोजीले भने।
कोजी मकाउका मुख्य फरवार्ड निकोलस टोराओदेखि भने चिन्तित छन्। उनी प्रतियोगिताकै टप स्कोरर समेत हुन्।
'मकाउको सबैभन्दा महत्वपूर्ण खेलाडी भनेकै स्ट्राइकर हुन्, उनी मुख्य खेलाडी समेत हुन्। लाओसविरुद्धको खेलमा मैले खेलाडीहरुलाई जाइसोनखामलाई मार्क गर्न भनेको थिएँ, किनकि उनी अग्ला थिए तर उनैले २ गोल गरे,' कोजीले भने।
मकाउ विरुद्धको खेलमा पनि टाराओ खतरनाक खेलाडी बन्न सक्ने उनले बताएका छन्। 'यदि हाम्रा सबै डिफेन्डरले राम्रो खेले भने हामीसँग सम्भावना छ,' उनी आशावादी देखिए।
कोजीले टीममा चोटको कुनै समस्या नरहेको र सामान्य समस्या रहे पनि खेलाडीमा पनि उच्च मनोबल रहेको च्याम्पियन बनेर नेपाल फर्कन चाहेको बताए।
'यो हाम्रो लागि च्याम्पियन बन्ने राम्रो अवसर हो। यो पहिलो सोलिडारिटी कप हो र हामी फस्ट च्याम्पियन बन्न चाहन्छौं,' उनले भने।
मकाउका प्रशिक्षक ताम आयो सानले आफुहरु मानसिक रुपमा तयार रहेको र चोटका कारण केही समस्या रहेको बताएका छन्।
उनले मुख्य खेलाडीका रुपमा रहेको ताराओलाई फाइनलमा खेलाउने वा नखेलाउने निर्णय गरिसकेका छैनन्। हातको चोटका कारण ब्रुनाई विरुद्धको खेलमा पनि ताराओ पहिलो रोजाइमा थिएनन्। तर दोस्रो हाफमा उनी मैदान उत्रेका थिए।
आउटसाइडरको रुपमा प्रतियोगिता खेल्न पुगेको मकाउले फाइनल पुग्दै आफ्नो लक्ष्य पूरा गरिसकेको छ। अब फाइनलमा उनीहरु बिनादबाब आफ्नो खेलमा फोकस हुने तामले बताएका छन्।
'प्रतियोगिताअघि हाम्रो टार्गेट सेमिफाइनल पुग्ने थियो र सेमिफाइनल पुगेपछि फाइनल पुग्ने हाम्रो चाहना थियो,' तामले भने, 'त्यसैले हामीमाथि कुनै प्रेसर छैन। हामीलाई गुमाउनु केही छैन। त्यसैले हामी फाइनलमै केन्द्रित हुनेछौं र मकाउ फुटबलको लागि केही आश जगाउन चाहन्छौं।'
हेड टु हेड
हेड टु हेडमा नेपाल मकाउभन्दा अघि छ। अहिलेसम्म भएका ५ खेलमध्ये नेपालले ३ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । एक खेल मात्र मकाउले जितेको थियो।
८ वर्षअघि भएको मैत्रीपूर्ण खेलमा नेपालले मकाउलाई ३-२ ले हराएको थियो।
त्यसअघि सन् १९९७ मा भएको फिफा विश्वकप छनोटमा नेपालले पहिलो खेलमा मकाउसँग १-१ को बराबरी खेलेका थिए भने दोस्रोमा नेपाल २-१ ले पराजित भएको थियो। तर २००१ मा भएको विश्वकप छनोटको दुवै खेलमा नेपालले मकाउमाथि शानदार जित हासिल गरेको थियो।
पहिलो खेलमा नेपालले मकाउलाई ४-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा ६-१ ले हराएको हो।
पहिलो खेलमा २ गोल गरेका निराजन रायमाझीले दोस्रो खेलमा ह्याट्रिक गरेका थिए। बालगोपाल महर्जनले दुवै खेलमा१/१ गोल गर्दा हरि खड्काले पहिलो तथा बसन्त थापा र दीपक लामाले दोस्रो खेलमा समान १ गोल गरेका थिए।
फाइनल हुने स्थान र समय
नेपाल र मकाउबीचको फाइनल खेल मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा हुनेछ। खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे सुरु हुनेछ।फिफा वरीयतामा नेपाल १८६ औं स्थानमा र मकाउ १९६ औं स्थानमा छ।