
काठमाडौं : जापानमा हुने दसौं एसियाली पौडी प्रतियोगितामा नेपालबाट तीन खेलाडीले सहभागिता जनाउने भएका छन्। नोभेम्बर १७ देखि २२ सम्म हुने प्रतियोगितामा तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
उक्त प्रतियोगितामा सहभागी हुन मंगलबार खेलाडीसहित छ सदस्यीय नेपाली टोली जापानको टोकियो प्रस्थान गर्दैछ।
प्रतियोगितामा टीसा शाक्यले ५० मिटर बटरफ्लाई तथा ५० र सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन्। अक्शरा सिंहले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछिन्। त्यस्तै आयुश्मा तुलाधरले ५० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन्।
खेलाडीत्रय लिङ्कन स्कुलमा अध्ययनरत छन्। टीसाबाहेक बाँकी दुई खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।
नेपालको टोली नेतामा नेपाल पौडी संघका उपाध्यक्ष महेश महर्जन, व्यवस्थापकमा पौडी संघका सदस्य सागर शाक्य तथा अफिसियलमा शान्ति स्थापित रहेका छन्।