PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भारु ५ सय र हजारको नोटलाई अब के गर्ने?



सुदर्शन सापकोटा

भारु ५ सय र हजारको नोटलाई अब के गर्ने?

काठमाडौं : नेपालीसँग रहेको ५ सय र हजार दरका भारतीय रुपैयाँ अब कागजको खोस्टासरह नै हुने हो त?
 
भारत सरकारले यी नोट प्रतिबन्ध लगाएको एक साता बित्न लाग्दा समेत यसको जवाफ न नेपाल सरकारले दिएको छ, न त राष्ट्र बैंकले। भारतीय पक्षले भारु सटहीका बारेमा नेपाली अधिकारीहरुलाई स्पष्ट जवाफ नदिँदा साटिने/नसाटिनेमा अन्यौल कायमै छ।
 
यो प्रकरण थप जटिल बनेको तथ्य नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे अनुरोध गरेबाट पनि पुष्टि हुन्छ। सोमबार साँझ मोदीलाई फोन गरेर दाहालले नेपालमा भएको नोट साटिदिन अनुरोध गरेका हुन्। अर्थमन्त्री कृष्णबहादुर महराले त्यसअघि नै वित्तमन्त्री अरुण जेट्लीसँग कुरा गरेका थिए।
 
राष्ट्र बैंकले भारतीय समकक्षी रिजर्भ बैंक अफ इन्डियासँग त सुरुदेखि नै अनुरोध गर्दै आएको थियो। तल्ला निकायहरुले गरेको प्रयासबाट ठोस उपलब्धिको संकेत नदेखिएपछि नेपालका तर्फबाट प्रधानमन्त्री तहमा नै अनुरोध गरिएको हो।
 
हरेक तहको कुराकानीमा नेपाली नोट सटहीमा समस्या नहुने आश्वासन आए पनि कतिसम्म र कहिले पैसा साटिदिने भनेर ठोस जानकारी आएको छैन। भारतीय दूतावासले बैंकिङ प्रणालीमा रहेको पैसा सटहीमा सकारात्मक हुन सकिने बताए पनि सर्वसाधारणको खल्तीमा रहेको पैसा बारे केही बोलेको छैन। प्रणालीकै पैसा साट्न पनि सरकारको ग्रिन सिग्नल चाहिने उसको भनाइ छ।
 
'हामीसँग प्रणालीभित्र रहेको भारु कति छ भनेर मात्र जानकारी मागिएको छ, जुन हामीले भारतीय पक्षलाई बुझाइसकेका छौं,' राष्ट्र बैंकका विदेशी विनियम विभाग प्रमुख भिष्मराज ढुङ्गानले भने, 'बजारमा रहेको भारुका बारेमा पनि सोधेका थिए। तर त्यसको विवरण हामीसँग नहुने भएकाले त्यही जानकारी गराएका छौं।'
 
नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग भएको भेटमा भने भारतीय दूतावासका अधिकारीले प्रति व्यक्ति बराबर २५ हजार भारुसम्म साट्ने सकिने संकेत गरेका थिए। नेपालीलाई त्यति रुपैयाँ सम्म भारु ५ सय र एक हजारको नोट बोक्ने अनुमति रहेको प्रसंग सहित ती अधिकारीले उक्त संकेत गरेको महासंघ स्रोतले जानकारी दियो।
 
तर, राष्ट्र बैंकसँग भने दूतावासले यसबारे केही नभनेको हुँदा भर परिहाल्ने अवस्था छैन।
 
'दुवै देशको प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुराकानी भइसकेकाले भारु साटिन सक्ने सम्भावना बढेको छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'आरबिआइले हामीलाई पनि सरकारी स्तरमा कुराकानी गरेर कुरा मिलाउन भनेको थियो। निश्चित कोटाका आधारमा भारु साटिन सक्छ।'
 

सुदूर पश्चिमको समस्या चर्को

नेपालमा बैकिङ प्रणालीबाहिर ठूला दरका भारु नोट भारत आइजाइ गर्ने काठमाडौंका व्यापारी, सीमावर्ती क्षेत्रका बासिन्दा तथा व्यापारी र कामका लागि भारत जाने सुदूर पश्चिमका सर्वसाधारणसँग धेरै छ।
 
राष्ट्र बैंकका एक अधिकारीहरुका अनुसार, सुदूरका बासिन्दा कामको खोजिमा भारतमै जाने भएको हुँदा उनीहरुसँग १० हजारदेखि तीन/चार लाख रुपैयाँसम्म भारु छ। नेपालमा सजिलै भारुको कारोबार हुने भएकाले उनीहरुले त्यसलाई नेपालीमा सटही गर्दैन थिए। सुदूरको पनि पहाडी इलाकामा यो समस्या ठूलो छ।
 
कामको खोजिमा भारत पुगेकाहरुको त्यहाँ बैंक खाता पनि हुँदैन। त्यस कारण उनीहरुले भारत सरकारले दिएको ५० दिन भित्र साट्ने सुविधा उपभोग गर्न पनि पाउँदैनन्।
 
'भारतले नोट सटही सुविधा उपलब्ध गरायो भने शहरका ब्यापारी तथा सर्वसाधारणले लाभ उठाए पनि सूदुरका बासिन्दालाई भने अप्ठेरो नै हुन्छ,' राष्ट्र बैंकका ती अधिकारीले भने, 'राष्ट्र बैकको धनगढीमा शाखा छ। त्यो शाखासम्म सुदूरका सबै बासिन्दाको पहुँच हुँदैन। सटही सुविधा पाउँदा पनि पहुँचका कारणले उनीहरुले त्यसलाई प्रयोग गर्न कठिन छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell