PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

अपरेसन सुजाता : नेपालमा पाँच लाख पनि नपर्ने उपचारका लागि सरकारले दियो ५० लाख



मनोज सत्याल

अपरेसन सुजाता : नेपालमा पाँच लाख पनि नपर्ने उपचारका लागि सरकारले दियो ५० लाख

काठमाडौँ :  आइतबार सरकारले सुजाता कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गर्‍यो जसको सामाजिक सञ्जालमा कडा आलोचना भयो।  सुजाताले आफ्नै नाममा पत्र लेखेर १ करोड रुपैयाँ मागेको तर आधामात्र दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसको भोलिपल्ट आफ्नो निर्णयको बचाउ गरे। 

सुजातालाई भएको के हो र त्यसको उपचार नेपालमा सम्भव छ कि छैन,  के उपचारका लागि ५० लाख रुपैयाँ आवश्यक पर्छ? कि अपुग हुन्छ? पहिलोपोस्टले यो विषयमा विज्ञहरुसँग छलफल गर्दा निस्किएको निश्कर्ष हो- सुजाताको उपचार नेपालमै सम्भव छ। र, उपचार खर्चका रुपमा उपलब्ध गराइएको रकम धेरै नै बढी छ। 

सुजातालाई भएको के हो? 

एसियाली महिलाहरुको सञ्जाल आइक्यापको सम्मेलनमा सहभागी हुन मलेसिया पुगेकी थिइन् सुजाता। नयाँ पत्रिकामा उनको भनाईलाई उद्धृत गर्दै आएको समाचार अनुसार छोरी र ज्वाइँसँगै मलेसियामा घुम्दा उनलाई रिङ्गटा लाग्यो। त्यहीँ चेकअप गराउँदा उनलाई स्तनमा क्यान्सर लागेको शंका गरियो। समाचारमा उनले ‘सर्जरी गराएँ’ भनेको पनि उल्लेख छ। कस्तो सर्जरी भन्नेबारे केही जानकारी छैन। 

अपरेसनपछिको प्याथोलोजिकल रिपोर्ट हेरेका एक चिकित्सकले पहिलोपोस्टलाई बताए अनुसार ‘उनको इआर, पीआर र हर टु न्यु (her2 neu) सबै नेगेटिभ छ। यसलाई टिएनबिसी भनिन्छ। इआर पनि नेगेटिभ, पीआर पनि नेगेटिभ र हर टू न्यु पनि नेगेटिभ भएकाले यसलाई ट्रिपल नेगेटिभ भनिएको हो।‘   

के हुन्छ यसको उपचार?

क्यान्सर विशेषज्ञ डा. आविश अधिकारीका अनुसार ‘क्यान्सरको उपचारमा प्रयोग हुने विधि तीन वटा हुन्छ-  किमोथेरापी, रेडियोथेरापी र हर्मोनल थेरापी। यसबाहेक अपरेसन अनिवार्य गर्नुपर्छ।‘

सुजाता आफैले अपरेसन भइसकेको बताएकी हुनाले अब किमो, रेडियो र हर्मोनल मध्ये एक थेरापी उनका लागि आवश्यक हुन्छ। 

उनको क्यान्सर प्रारम्भिक चरणको भएकोले रेडियो र हर्मोनल थेरापी आवश्यक पर्दैन। डा. अधिकारी भन्छन्, ‘क्यान्सरको स्टेज गिर्खाहरुमा पुगेको रहेछ भनेमात्रै रेडियसन चाहिने हो। हर टू न्यु नेगेटिभ हो भने हर्मोनल थेरापी पनि आवश्यक हुन्न।‘ 

त्यसकारण उनलाई अहिले आवश्यक रहेको विषय किमोथेरापी हो। 

कसरी गरिन्छ किमोथेरापी?

डा. अधिकारी भन्छन्, ‘बिरामीको उमेर यदि ५० वर्ष हो र उसको मुटुको अवस्था राम्रो छ भनेर मान्ने हो भने किमोथेरापी लाग्छ। किमोथेरापीमा टिएसी हुन्छ। यो भनेको तीनथरी औषधी हुन्।‘

‘यी औषधी तीन-तीन हप्तामा छ चोटी दिनुपर्छ। भनेपछि २४ हप्ता लाग्छ। अर्थात् छ महिना चानचुन लाग्छ। ६ देखि ८ साइकल दिनुपर्छ, तीन तीन हप्ताको अन्तरालमा।‘
 

नेपालमा हुन्छ त ?

‘किमोथेरापी नेपालमा नहुने कुरै भएन’, वीर अस्पतालका क्यान्सर विभागका प्रमुख डा. विवेक आचार्य भन्छन्, ‘वीर अस्पतालमा पनि यो हुन्छ।‘

नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका वरिष्ठ चिकित्सक सुदीप श्रेष्ठका अनुसार अहिले नेपालकै अस्पतालहरुमा सर्जरीदेखि किमो, रेडियो र हर्मोनल तीनै किसिमका थेरापी पनि सम्भव छ। 

‘अहिले विदेशमा हुने उपकरण र चिकित्सक नेपालमा नै छन्, जस्तै किसिमका जटिल प्रकृतिका क्यान्सर रोगको उपचार गर्न हामी सक्षम छौँ’, उनी भन्छन्। स्तन र आन्द्रा लगायत स्थानमा हुने क्यान्सर अरु क्यान्सरभन्दा सामान्य प्रकृतिको हुने उनको भनाई छ।

खर्च कति लाग्छ?

त्यसो भए उपचार खर्च भन्दै सरकारले दिएको ५० लाख रकमले पुग्छ त? सुजाताले मागे जस्तो एक करोड नै आवश्यक हुने त होइन?
हामीलाई नेपालका चिकित्सकहरुले दिएको जानकारी अनुसार ५० लाख रुपैयाँ धेरै बढी रकम हो। यसको निकै थोरै अंशमात्र वास्तवमा उपचारका लागि लाग्छ।  

डा. अधिकारी भन्छन्, ‘यदि नेपालमा टिएसी लगाउनु पर्‍यो भने ५० हजारभन्दा कम खर्च लाग्छ। दुनियाँको बेस्ट औषधी, अमेरिकन औषधी ल्याउँछु, इण्डियन प्रयोग गर्दिनँ भन्दा पनि, एकदम राम्रो ठाउँमा गर्छु भन्दा पनि खर्च लाग्दैन। किनभने यसका लागि अस्पतालमा भर्ना हुनु पर्दैन। अस्पतालमा आउने, लगाउने, जाने हो। भनेपछि अस्पतालमा खर्च हुँदैन। खर्च भनेको औषधीमा हो।‘ 

उनी अगाडि भन्छन्, ‘मेरो बुझाइमा सबैभन्दा महङ्गो औषधी खर्च गर्दा पनि ५० हजार जति खर्च हुन्छ। ग्राण्डीमा लगाउने बिरामीले पनि प्रत्येक साइकलमा ३० हजार खर्च गर्नुहुन्छ।‘ 

५० हजार रुपैयाँको हिसाबले ८ साइकललाई गन्ने हो भने पनि उपचारमा मात्र चार लाख रुपैयाँ लाग्ने देखिन्छ। 

डा. श्रेष्ठ पनि स्तन क्यान्सरको उपचार नेपालमा २ देखि ४ लाख रुपैयाँमा सम्भव भएको बताउँछन्। सामान्य परिवारका मानिसलाई सरकारले दिएको १ लाख रुपैयाँ सुविधा लिँदा यस्ता रोग २ लाखको हाराहारीमा उपचार हुने उनी बताउँछन्। 

वीर अस्पतालमा साढे ३ लाखमै

वीर अस्पतालका चिकित्सकका अनुसार त्यहाँ राम्रो किमो गर्न डसिटको २० हजार, इन्जेक्सनको १० देखि १५ हजार गरी ४० हजार रुपैयाँको हाराहारीमा एक साइकलको उपचार सकिन्छ। वीर अस्पतालमा रगत बढाउने इन्जेक्सन सकेसम्म बिरामीलाई राख्ने गरिँदैन। यसको मूल्य ३५ सय जति पर्छ। रगत कम भएर बिरामीलाई नै असर पर्ने अवस्था आयो भने मात्र यो राखिन्छ। पैसा भएको बिरामीलाई भने सुरुवातमै राख्ने सल्लाह दिइन्छ। त्यो पनि महँगो हाल्दा सबैभन्दा राम्रो कम्पनीकै १० देखि १५ हजारमा आइहाल्छ। 

उनले पनि बढीमा ५० हजारमा एक साइकल उपचार सम्भव हुने बताए। ‘यस्तोमा ६ साइकल गर्ने हो भने पनि ३ लाख हुन आउँछ। यता उता आतेजाते खर्च समेत जोड्ने हो भने वीरमा गर्दा साढे ३ लाख खर्च हुन्छ’, उनले भने। 

केका लागि चाहियो ५० लाख रुपैयाँ?

नेपालकै विज्ञ चिकित्सकहरुले नेपालमै बढीमा पाँच लाख रुपैयाँमा उपचार हुने बताइरहँदा सरकारले भने ५० लाख रुपैयाँ एकमुष्ट सहयोग दिने निर्णय गरिसकेको छ। निर्णय गर्दा वास्तवमा उपचारका लागि कति खर्च आवश्यक छ भन्ने हेरिएको छैन। 

फायरसाइडमा हिजो अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले भनेका थिए, ‘सुजाता कोइरालाले मेरै नाममा (उपचार खर्च सहयोगका लागि) चिठी लेखेर पठाउनु भएको थियो र एक करोड माग्नुभएको थियो। शेरबहादुर जीले दिनै पर्छ भन्नुभो। त्यसकारणले ५० लाख रुपैयाँ दिइएको हो।‘

​उनको यो भनाईले सरकारलाई वास्तवमा उपचार खर्च कति आवश्यक थियो भन्ने पनि थाहा नभएको देखाउँछ।

५० लाख किन दिनु पर्‍यो त? पत्रकार उमेश चौहानले यसबारे सटीक टिप्पणी गरेका छन्।  उनले ट्विटरमा लेखेका छन्- सुजातालाई बचाउन होइन सरकारले आफैलाई बचाउन ५० लाख दिएको हो। रोगको प्रकृति र विज्ञका विचारले उनको टिप्पणी सही ठहर्‍याउँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell