
काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामाले भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेको मुद्दामा सफाइ पाएका छन्। लामाले अकूत सम्पति आर्जन गरेको भन्दै गत वैशाख ३० गते अख्तियारले लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरु प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले लामाले 'अवैध स्रोतबाट सम्पति आर्जन गरेका रहेछन् भन्न नमिल्ने' ठहर गरेको हो।
अख्तियारले लामाको ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ रुपैँयाको स्रोत नदेखिएको भन्दै मुद्दा दायर गरेको थियो।
अदालतको फैसलामा भनिएको छ - 'निजले पेश गरेको सम्पतिका सम्बन्धका प्राप्त प्रमाण केलाई हेर्दा निजको आयश्रोत व्यय भन्दा बढी देखिन आएको र निजले निजको स्रोतलाइ मिसिलसँग कागज प्रमाणहरुबाट अन्यथा भन्न नमिल्ने आधार देखिएको निजले अवैध स्रोतबाट सम्पति आर्जन गरेका रहेछन् भन्न नमिल्ने देखिँदा निज ल्हारक्याल लामाले मिसिल कागज र प्रमाणहरुको आधारमा आरोपित कसुरहरुबाट सफाइ पाउने ठहर्छ।'
अख्तियारले ल्हारक्याल लामासँग रहेको २९ करोड ६९ लाख १४ हजार कूल सम्पतिमा २० करोड ३४ लाख ४१ हजार ८ सयको स्रोत वैध मानेको थियो।
९ करोड ४४ लाख ७२ हजार १ सय ७९ रुपैयाँ भने अवैध भनेको थियो।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि लामाको सांसद पद समेत निलम्बित अवस्थामा थियो। सफाइ पाएसँगै अब उनको निलम्बन समेत फुकुवा हुनेछ।
विगतमा कांग्रेसबाट गुम्बा विकास समितिका अध्यक्ष भएका लामा एमाले राजनीतिमा प्रवेश गरेर अर्थराज्यमन्त्रीसम्म भएका थिए।
संविधानसभाको दोश्रो निर्वाचन अघि भने उनी माओवादीमा प्रवेश गरेका थिए। उनलाई माओवादीले समानुपातिक सांसद शम्भु पासवान हजारीको पद खारेजपछि रिक्त स्थानमा सांसद बनाएको थियो।