- नारायण ढुंगाना
प्रतिक्षालयमा कष्टकर जीवन बिताउँदै आएकी रोल्पा जिल्ला घर बताउने अस्मिता मगर नामकी सुत्केरीको उद्धार गरिएको हो। चितवनको नारायणगढ क्षेत्रमा प्रहरी र मानवसेवा आश्रमको संयुक्त सडक सेवाका क्रममा उद्धार गरिएकी सुत्केरीको मानवसेवा आश्रम चितवनमा आवश्यक उपचार गरेर राखिएको अभिभावक प्रेमप्रभा अधिकारीले जानकारी दिइन्।
'यात्रु प्रतिक्षालयमा ओढ्ने कपडा पनि नभएको, झुल ओढेर सुतिरहेको अवस्थामा भेटियो,' आश्रमका अभियन्ता रञ्जु लामिछानेले भनिन्, 'कष्टकर देखेपछि उद्धार गरेर ल्याएका हौँ।' अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको आश्रमले जनाएको छ।
श्रीमानले अर्को बिहे गरेपछि आफूलाई छाडेको सुत्केरी अस्मिताले बताइन्। चार दिनअघि भरतपुर अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएपछि सडकपेटीमा आएर बस्न थालेको उनको भनाइ छ।
चितवनमा प्रहरी र आश्रमले सुरु गरेको रात्रि सडक सेवाअन्तर्गत केही दिनअघि मात्रै एक गर्भवतीको पनि सडकपेटीबाटै उद्धार गरिएको थियो। यसरी उद्धार गरिएका चारजना गर्भवतीले आश्रममै बच्चा जन्माइसकेका छन्।
भरतपुरमा रहेको आश्रमले सडकमा आश्रित हुन बाध्य भएका असहाय तथा मानसिक रोगीको उद्धार पनि उपचार गरेर स्वस्थ बनाई परिवारमा मिलन गराउँदै आएको छ।रासस