
सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै लगातार छैटौ जित हात पारेको छ।
१२ औं चरणको छनोट खेलमा ब्राजिलले पेरुलाई पराजित गर्दै लगातार ६ खेल जितेको हो। ब्राजिलले पेरुलाई उसैको घरेलु मैदानमा २-० ले पराजित गर्यो।
अघिल्लो खेलमा घरेलु मैदानमा अर्जेन्टिनालाई हराउँदै उत्कृष्ट लयमा रहेको ब्राजिलले पेरुलाई हराउँदा दुवै गोल दोस्रो हाफमा गरेको हो।
ब्राजिलको जितमा गाब्रिएल जेससले ५८ औं मिनेटमा तथा रेनटो अगस्टोले ७८ औं मिनेटमा गोल गरे। अगस्टोको लागि पनि जेससले असिस्ट गरेका हुन्।
जितसँगै ब्राजिल दक्षिण अमेरिकी महादेशिय छनोटको अंक तालिकामा शीर्ष स्थानमा यथावत छ। १२ खेलबाट २७ अंक जोडेको ब्राजिलले दोस्रो स्थानको उरुग्वेमाथि ४ अंकको अग्रता बनाएको छ।
मार्च ३० मा पाराग्वेसँग बराबरी खेलेयता ब्राजिलको यो लगातार छैटौं जित हो।
चिलिसँग पराजित हुँदै छनोटको यात्रा सुरु गरेको ब्राजिलले त्यसयता ११ खेलमा अपराजित छ भने ८ खेलमा जित तथा ३ खेलमा बराबरीको नतिजा निकालेको छ।