PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

यो संविधान कार्यान्वयनको समय हो, संशोधन जरुरी छैन : नेता खनाल



पहिलोपोस्ट

यो संविधान कार्यान्वयनको समय हो, संशोधन जरुरी छैन : नेता खनाल

इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कसैको आन्दोलनसँग संविधानको मूल्य, मान्यताको खरिद–बिक्री नहुने बताएका छन्।
 
प्रेस चौतारी इलामले आज बिहान इलाम सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा खनालले अहिले संविधान संशोधनको कुनै आवश्यकता नरहेको बताए। अहिले संशोधन नभई संविधान कार्यान्वयनको समय रहेको भन्दै उनले कार्यान्वयन गर्दै जाँदा आवश्यक परे मात्र संशोधन गर्न सकिने बताए।
 
अंगीकृत नागरिकता भएकालाई राष्ट्रप्रमुख बनाउनकै लागि संविधान संशोधन गर्न नसकिने उनले स्पष्ट पारे।
 
संविधान कार्यान्वयनका लागि एमाले सहित नेपाली कांग्रेस र माओवादी केन्द्र सहितका तीन दल संविधान जारी गर्नुपूर्व जस्तै एकै ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो। संविधानको कार्यान्वयनका लागि अहिलेको गठबन्धन सरकार नै बाधक रहेको नेता खनालले आरोप लगाए।

पत्रकारको जिज्ञासमा उनले सरकारले सय दिन सुतेरै बिताएको समेत बताए। एक अर्को प्रसंगमा नेता खनालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा छलफल भइरहेको महाअभियोग प्रस्ताव भारी बहुमतले पारित हुने उनले दाबी गरेका छन्।
 
साथै नेता खनालले चिया खेतीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विशेष पहल सुरू भएको जानकारी दिए। चियालाई विश्व बजारमा प्रतिस्पर्धाका लागि जापानको जाइका कम्पनीले इलामका केही चिया बगानको परीक्षण तथा अनुगमन गरिरहेको र त्यसको रिपोर्ट आएपछि काम अघि बढ्ने उनको भनाइ थियो।

इलामलाई पर्यटकीय जिल्लाको रूपमा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell