काठमाडौँ : तिहारयता लोडसेडिङ नहुँदा तपाइँलाई पक्कै राहत भएको छ। यो अवस्था निरन्तर रहोस् भन्ने सबैको चाहना पनि छ। यदि यो चाहना पूरा गर्ने हो भने तपाईंले पनि विद्युत प्राधिकरणलाई सानो सहयोग गर्नुपर्ने हुन्छ।
कस्तो सहयोग?
तपाईंले ठूलो सहयोग गर्नै पर्दैन। दिनमा ६ घन्टा मात्रै बिजुली धेरै खपत गर्ने चार उपकरण नचलाए मात्रै २४सै घन्टा बत्ती बाल्न, टिभी हेर्न र अन्य काम गर्न पाउनुहुनेछ।
बिहान ५ देखि ८ र बेलुकी साढे ५ देखि साढे ८ बजेसम्मको 'पिक आवर'मा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै बिजुली खपत गर्ने उपकरण नचलाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ।
लोडसेडिङ अन्त्य गर्ने अभियानमा उपभोक्तालाई साथ लिएर अघि बढ्ने प्राधिकरणको योजना छ। ६ घन्टा बाहेक जुनसुकै समयमा यी उपकरण चलाउन सकिनेछ।
प्राधिकरणका अनुसार पिक आवरमा राजधानीको विद्युत खपत ३ सय मेगावाटसम्म पुग्ने गरेको छ। दिनभर यो २ सय मेगावाट मात्र रहने र राति १० बजेदेखि बिहान ५ बजेसम्म १ सय मेगावाटमा झर्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए।
उनी यही माग र आपूर्तिको सन्तुलन मिलाएर उपत्यकालाई लोडसेडिङ मुक्त गर्न कम्मर कसेका छन्। राजधानीमा आसपासकै भोटेकोसी, खिम्ती एवं त्रिशूली करिडोरका परियोजनाबाट विद्युत आपूर्ति हुने गरेको छ। त्यसबाहेक पिक आवरमा कुलेखानीको समेत सहयोग रहन्छ।
पिक आवरमा सर्वसाधारणले धेरै बिजुली खपत गर्ने उपकरण नचलाई बत्ती बाल्ने, टिभी हेर्ने लगायतका काम मात्र गर्ने हो भने लोडसेडिङ व्यवस्थापन कठिन नहुने प्राधिकरण व्यवस्थापनको विश्वास छ।