
पोखरा : नेपाली कांग्रेसको युवा भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत चयन भएका छन्।
गत शनिबारदेखि पोखरामा भएको महाधिवेशनमा नेताहरुले चुनावी प्रक्रियामा नजाने सहमति गरेपछि सर्वसम्मतिबाट नेतृत्व चयन भएको हो। जितजंगसँगै महासचविमा भूपेन्द्रजंग शाही चयन भएका छन्। उपाध्यक्षमा उत्तम चापागाईं र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भए।
भागबण्डाका आधारमा पदाधिकारी चयन भए पनि केन्द्रीय सदस्यहरु भने मनोनीत नगरी नेताहरु फर्कने भएका छन्।
केन्द्रीय सदस्यहरुको मनोनयन पार्टीले गठन गरेको निर्देशक समितिको आगामी बैठकबाट गर्ने सहमति भएको छ। नेताहरुबीच पदाधिकारी बढाउने विषयमा सहमति नभए पनि केन्द्रीय सदस्यहरु बढाउने विषयमा भने सहममति भएको छ। सहमतिअनुसार अब बन्ने केन्द्रीय समति ९५ सदस्यीय हुनेछ। केन्द्रीय समितिमा संविधानले तोकेका ८ क्लस्टरसहित सहिद परिवारलाई पनि प्रतिनिधित्वको क्लस्टर मानिएको छ।
गत शनिबार पोखरामा उद्घाटन भएको महाधविशेनपछि देशभरबाट आएका प्रतिनिधि नाममात्रको बन्दसत्रमा बसेका थिए भने नेताहरु सर्वसम्मति भन्दै छलफलमा जुटेको थिए।
लामो रस्साकस्सी पछि नेताहरुबीच पदको भागबण्डा मिलाएर पदाधिकार मात्र घोषणा भएको हो।