PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रौतहटमा सवा अर्बको लगानीमा चिनी मिल खुल्दै, दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्ने



राधेश्याम पटेल

वीरगन्ज : रौतहटमा सवा अर्बको लगानीमा चिनी मिल स्थापना हुने भएको छ।
 
बाबा बैजनाथ सुगर एण्ड केमिकल्स उद्योग निर्माणका लागि पिपरापोखरिया-८ डुमरियामा शिलन्यास भइसकेको छ। यो उद्योग सञ्चालनमा आएमा जिल्लाको दोस्रो ठूलो चिनी मिल हुनेछ। जिल्लामा श्रीराम सुगर मिल्स सञ्चालनमा छ।
 
बाबा र ज्योति डिस्टिलरीका सञ्चालक रामश्रयप्रसाद जैसवालको लगानीमा यो चिनी मिल स्थापना हुन लागेको हो। उद्योग सञ्चालक जैसवालले आगामी सिजनदेखि चिनी उत्पादन गर्ने लक्ष्यसहित उद्योग निर्माण अघि बढाइएको जानकारी दिए।
 
उनले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्ने जानकारी दिँदै दैनिक डेढ सय क्विन्टल चिनी उत्पादन गर्ने बताए। 'अत्याधुनिक मेशिनबाट गुणस्तरीय चिनी उत्पादन गर्नेछौं,' उनले भने।
 
रौतहटको अर्को चिनी मिल श्रीराम सुगर मिलमा विशाल समूहले लगानी गरेको छ। विशाल समूहको लगानीसँगै श्रीराम सुगरमिलमा उखु बिक्री गर्ने किसानले बक्यौता दिन सुरु हुँदैछ।
 
श्रीराम सुगरमिलले उखुको बक्यौता नदिँदा किसानहरु उखु खेतीबाट विस्थापित हुन थालेका थिए। नयाँ उद्योगका लगानीकर्ता जैसवालले भने किसानलाई प्राथमिकतामा राखेर मिल स्थापना गर्न लागेको बताए। 'किसानको बक्यौता नराखी थप व्यावसायिक रुपमा खेती गर्न सहयोग गर्नेछौं,' उनले भने, 'किसानको जीवनस्तर उकास्न हामीले लगानी गर्न थालेका हौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell