PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

खोटाङ-ओखलढुंगा जोड्ने जयरामघाट पुल निर्माण चाँडै सक्न प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

खोटाङ-ओखलढुंगा जोड्ने जयरामघाट पुल निर्माण चाँडै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : खोटाङ–ओखलढुंगा जोड्ने दूधकोशी नदीको जयरामघाट पुल निर्माण चाँडै सक्न  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारमा ती अधिकारीलाई बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे प्रधानमन्त्रीले जिज्ञासा राखे। प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिवहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्की लगायतका अधिकारीहरुलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले आगामी चैत मसान्तभित्र पुल सक्ने गरी काम गर्न निर्देशन दिएका हुन्।
 
२०६६ असार २३ गते पुल निर्माणको सम्झौता भएको थियो। २०७० मंसिर १५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भए पनि समयमै निर्माण हुने नदेखिएपछि प्रधानमन्त्रीले चासो राखेका हुन्। गत साता राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीय बासिन्दासँगको भेटमा प्रधानमन्त्रीले छिटै पुल निर्माणको काम अघि बढाउन आवश्यक निर्णय लिने बताएका थिए।
 
प्रधानमन्त्रीले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानीयबासीको गुनासो स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार सचिव र सडक विभागका निर्देशकले ठेकेदारहरुलाई बोलाएर छिटो पुल निर्माणका लागि सचेत गराउने र समयमै सम्पन्न नभए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell