डोल्पा : काठमाडौं लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन्।
उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौं लगिँदै थियो। गत आइतबार सुर्खेतको छिन्चुबाट उनीहरुलाई प्रहरीले उद्धार गरेको हो। ती बालबालिका ५ वर्षदेखि १५ वर्षमुनिका छन्।
अभिभावकको मन्जुरीबिना काठमाडौं लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक बहादुरजङ्ग मल्लले जानकारी दिए।
बालबालिकासँगै रहेका तिन्जेकै २८ वर्षीय चोजिन जिष्टुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिष्टुले नै ती बालबालिकालाई उनीहरुका बाआमाको अनुमतिबिना काठमाडौँ लैजाँदै गरेको प्रहरीको भनाइ छ।
प्रहरीले नेपाली भाषा बोल्न नजान्ने ती बालबालिकालाई सुर्खेतस्थित महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ। उनीहरुमध्ये १८ जनालाई पहिलोपटक लगिँदै थियो भने अन्य यसअघि नै काठमाडौँमै अध्ययनरत रहेको बताइएको छ।
महिला तथा बालबालिका कार्यालय डोल्पाका अधिकृत भोजकला दवाडीका अनुसार सुर्खेतमा अलपत्र परेका बालबालिकालाई जाजरकोट हुँदै डोल्पा फर्काउने तयारी भइरहेको छ। 'चाँडै नै ती बालबालिकालाई आफन्तको जिम्मा लगाउँछौँ,' उहाँले भने।
बर्सेनि उपल्लो डोल्पाबाट लामा ज्ञान दिने भन्दै बालबालिकालाई उनीहरुका बाआमाको अनमपतिबिना काठमाडौँ लगिने गरिएको बताइएको छ। उपल्लो डोल्पामा विद्यालय भए पनि नियमित पढाइ भने हुँदैन।रासस