
बागलुङ : बागलुङदेखि काठमाडौंसम्म पर्यटक बस सञ्चालनमा आएको छ।
यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज आयोजित कार्यक्रममा सो बस सेवाको शुभारम्भ गरे। ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। उनका अनुसार बागलुङमै पहिलोपटक हरियो नम्बर प्लेटको पर्यटक बस सञ्चालनमा आएको हो। यात्रुले हाल सञ्चालनमा रहेका बसमा भन्दा पर्यटक बसमा अतिरिक्त सेवासुविधा पाउनेछन्।
'बसभित्रै शौचालयको सुविधा छ, यात्रुलाई चिया, कफी, खाजा बसभित्रै उपलब्ध हुन्छ,' अध्यक्ष खड्काले भने। ‘एसी’ सुविधा भएको बसमा ‘रेफ्रिजेरेटर’ पनि राखिएको छ।
अन्य बसको तुलनामा पर्यटक बसको सिट चौडा र आरामदायी रहेको समितिका महासचिव उमेश केसीको भनाइ छ। समितिले बसको एकतर्फी भाडा एक हजार दुई सय रुपैयाँ कायम गरेको छ।
ज्येष्ठ नागरिक, अपाङ्ग र असहायलाई भाडादरमा ३३ प्रतिशत छुट गरिएको छ। ३० सिट क्षमताका दुई वटा बसबाट सेवा सञ्चालन गरिएको हो।
प्रत्येक दिन बागलुङबाट बिहान ७ बजे र काठमाडौँ सुन्धाराबाट बिहान साढे ६ बजे बस छुट्नेछन्। बस सेवाबाट बागलुङ लगायत धवलागिरि क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र यात्रुले लाभ लिनेछन्।
बुधबार बिहान छुटेको पहिलो बसका यात्रुलाई प्रजिअ पाण्डेय र समितिका पदाधिकारीले सम्मानसहित बिदाइ गरेका थिए। समितिले बुधबारदेखि नै बागलुङदेखि रौतहटको गौर र म्याग्दी बेनीदेखि भद्रपुरसम्मका लागि ‘डिलक्स’ बस सेवा सञ्चालन गरेको छ। समितिले बागलुङ–नयाँदिल्लीदेखि देशभित्र लामो तथा छोटो दुरी गरी चार सय बस पनि सञ्चालनमा ल्याएको छ।रासस