
काठमाडौं : भारतीय ५ सय र हजार दरका ठूला नोट सटहीका लागि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आज भारतीय राजदूतसँग पुन: कुराकानी गरेका छन्। उनले वैधानिक रुपमा भित्रिएका नोटहरु सटही गरिदिन भारतीय राजदूत रणजित रेलाई आग्रह गरेका छन्।
अघिल्लो मंगलबारबाट भारतले ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेको छ। राष्ट्र बैंकले पनि बुधबारै नोट सटही नगर्न बैंक तथा वित्तीय संस्थाहरु र मनिचेन्जरलाई निर्देशन दिइसकेको छ।
राष्ट्र बैंकले भारतीय केन्द्रीय बैक रिजर्भ बैंक अफ इण्डियाँसँग पनि नोट सटही गर्न तारन्तार पहल गरिरहेको छ। यता प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई र अर्थमन्त्री कृष्णबहादुर महराले वित्त मन्त्री अरुण जेट्लीसँग टेलिफोनमार्फत आग्रह गरिसकेका छन्।
गभर्नर नेपालले राजदूत रेसँग बुधबार बिहान टेलिफोन कुराकानी गर्दै २५ हजार भारुसम्मको सटही सुविधा दिन आग्रह गरेको गभर्नर कार्यालय स्रोतले जनाएको छ। रेले त्यसका लागि निरन्तर पहल भइरहेको जवाफ दोहोर्याएका थिए।