
नयाँदिल्ली : अघिल्लो मंगलबार राति १२ बजेपछि छोरा नरेन्द्र मोदीले ५ सय र १ हजार दरका भारतीय रुपैयाँ नचल्ने घोषणा गरिदिए। छोराले भारु नचल्ने घोषणा गरेपछि सारा भारतीयहरुले मात्र दु:ख पाएनन्, आफ्नै ९७ वर्षीया आमाले पनि दु:ख पाइन्।
अहिले अधिकांश भारतीयको काम भनेकै आफूसँग भएको ठूला दरका भारु साट्नु भएको छ। जस्तो एक वर्षअघि नेपालीहरुको पेट्रोल र ग्यासमा लाइन बस्नु जस्तै।
नोट साट्ने लाइनमा गुजरातको गान्धीनगरमा एउटा अचम्मको दृश्य देखियो। त्यो लाइनमा प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा पनि उभिएकी थिइन्। उनले साहाराबिना उभिन पनि सकिरहेकी थिइनन्।
४५ सय भारु साट्न बैंकको लाइनमा बसेकी उनलाई पैसा साट्न एक डेढ घन्टा समय लाग्यो। उनले जसोतसो नोट साटिन्। बैंकका कर्मचारीहरुले मोदीकी आमा हिराबेनलाई सहारा दिएका थिए। उनीहरुकै मद्दत लिएर हिराबेनले नोट साट्दा बैंकमा ल्याप्चे लगाइन्।
गान्धीनगरको रायसान गाउँस्थित ओरियन्टल बैंक अफ कमर्समा हिराबेनले पैसा साटेकी हुन्। उनीसँगै केही नातेदारहरु पनि पैसा साट्न गएका थिए। एजेन्सी