PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेपालको भारु समस्या समाधान गर्न भारतको केन्द्रीय बैँकले बनायो कार्यदल



सुदर्शन सापकोटा

नेपालको भारु समस्या समाधान गर्न भारतको केन्द्रीय बैँकले बनायो कार्यदल

काठमाडौं : भारतले नेपालमा रहेको  ५०० र १००० दरको भारतीय नोट सटहीको निकास खोज्न कार्यदल गठन गरेको छ। भारतले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएको छ। भारतमा अहिले ती नोट साट्ने क्रम जारी छ। नेपालले पनि आफ्ना नागरिकसँग रहेको नोट साट्न आग्रह गरेपछि भारतले कार्यदल गठन गरेको हो।

सरकारले भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) को नेतृत्वमा वित्त मन्त्रालयको टोलीसहितको समूह बनाएको छ। त्यो समूहले नेपाल र भुटानमा रहेका ठूला दरका भारु नोटहरु साट्ने बारेमा आवश्यक कार्यविधि बनाउने छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग टेलिफोन कुराकानी गर्दै आरबिआइका गभर्नर उर्जित पटेलले नोटको समस्या समाधान गर्न एउटा कार्यदल बनेको जानकारी गराएका छन्। गभर्नर नेपालले बुधबार बिहान भारतीय राजदूत रणजित रायसँग पनि टेलिफोन कुराकानी गर्दै नोटको सटही सुविधा मिलाउन आग्रह गरेका थिए।

गभर्नर नेपालले बुधबार दिउँसो आरबिआइ गभर्नर पटेलसँग पनि छिटो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए। टेलिफोन कुराकानीका क्रममा पटेलले कार्यदल बनिसकेको जानकारी दिँदै त्यसले छिट्टै समस्या समाधान गर्ने जानकारी दिए।

गभर्नर कार्यालय स्रोतका अनुसार, वित्त मन्त्रालयको टिमसहित आरबिआइका अधिकारीहरु सम्मिलित कार्यदलले कतिसम्म नोट सटही सुविधा दिने टुङ्गो गर्ने छ। कार्यदलले एउटा खाका बनाएपछि त्यसलाई सरकारले अनुमोदन गरेर कार्यान्वयनमा लैजाने छ।

'कार्यदल बन्नुको अर्थ नेपालमा भएका भारतीय नोटहरु साटिन्छन् भन्ने संकेत हो' गभर्नर कार्यालय स्रोतले भन्यो, 'कति परिमाणमा कहिलेसम्म भन्ने उनीहरुले टुङ्गो लाउने छन्।'

भारतले अघिल्लो मंगलबार ठूला दरका भारु खारेजी गरेपछि नेपाल राष्ट्र बैंकले भोलिपल्टै ५०० र १००० दरका भारु नोट सटही नगर्न निर्देशन दिएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार, नेपालको बैकिङ प्रणाली र मनी चेञ्जरहरुसँग कुल तीन करोड ३६ लाख बराबरको ५०० र १००० दरका भारु नोट छन्। यसवाहेक व्यापारी, नेपाल भारत आउजाउ गर्ने सर्वसाधारण र कामका लागि भारत पुगेका सूदूर पश्चिमका सर्वसाधारणसँग ठूला दरको भारु छ। उनीहरुसँग कति यस्ता भारु छन् भन्ने यकिन भने भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell