
काठमाडौँ : पाँच दशकदेखि आख्यान विधामा सक्रिय भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारी रत्न’बाट सम्मान गरिएको छ।
बाह्रौँ त्रिमूर्ति दिवसका अवसरमा त्रिमूर्ति निकेतनद्वारा बुधबार आयोजित कार्यक्रममा रु एक लाख राशिको सहित ताम्रपत्रद्वारा श्रेष्ठलाई शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मान गरे।
सोही अवसरमा शास्त्रीय छन्दकवि मुकुन्द शर्मालाई ‘लेखनाथ काव्य पुरस्कार’, नाट्यकर्मी अशेष मल्ललाई ‘बालकृष्ण सम पुरस्कार’ र कवि मञ्जुललाई ‘देवकोटा काव्य पुरस्कार’बाट सम्मान गरियो। ती पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ।
समारोहमा देशदेशान्तरका २०८ महानुभावलाई शताब्दी पुरुष जोशीद्वारा ‘सत्यमोहन जोशी शताब्दी पदक’ पनि प्रदान गरिएको थियो।
कार्यक्रममा नई प्रकाशनद्वारा प्रकाशित माधवराज आचार्यद्वारा लिखित कथासङ्ग्रह ‘फुस्रो सिउँदो’, मनिराज जोशीद्वारा लिखित ‘हाम्रो संस्कृति र जीवन पद्धति’, भगवती बस्नेतद्वारा लिखित ‘मृत सागरमा म’, उमा कार्कीद्वारा लिखित कवितासङ्ग्रह ‘हिउँको पर्दा’, कृष्ण शाह यात्री र ललिता दोषीद्वारा सम्पादित ‘नाट्यभूषण : मदनदास श्रेष्ठ’, निर्मल ज्ञवालीद्वारा लिखित ‘शान्तिकुमारी राईको यात्रा’, प्रा राजेन्द्र सुवेदीद्वारा लिखित ‘नरेन्द्रराज प्रसार्इँकृत एकल जीवनको विश्लेषण’ समालोचना सङ्ग्रह र सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा तथा पारसमणि प्रधानबारे नरेन्द्र प्रसाईँद्वारा लिखित जीवनी सङ्ग्रह ‘सूधपा’नामक कृतिको लोकार्पण गरियो।रासस