
काठमाडौं : सञ्चारकर्मी समिर बलामीले आफ्नो निर्देशनमा बन्ने सातौं फिल्म घोषणा गरेका छन्। बुधबार जन्मदिनको अवसर पारेर उनले फिल्म 'रुट नं २३' बनाउने बताए।
प्रोफेसर तथा व्यवसायी राजेन्द्र त्रिपाठीले निर्माण गर्ने फिल्म सत्य घटनामा आधारित रहने बताइएको छ। जन्मोत्सवका अवसरमा बोल्दै त्रिपाठीले भने, 'फिल्म निर्देशनको अवसर जस्तो सुन्दर उपहार के हुन सक्ला।'
फिल्मले काठमाडौंमा भएको माइक्रो दुर्घटनाको कथा बोल्नेछ। द्वन्द्वकालको समय (२०६२ सालमा) मा रुट नं २३ मा चल्ने माइक्रोमा बम बिस्फोट भएको थियो। बालाजुमा घटेको सो दुर्घटनामा परी माइक्रोको सहचालक बाहेक सबैको निधन भयो। फिल्मलै सोही घटनालाई चित्रण गर्नेछ।
निर्देशकले भने, 'फिल्मकै लागि खलासी पनि बनेँ र त्यो क्षेत्रमा निकै समय बिताए। यो फिल्मसँग समाजको यथार्थ मात्र होइन भावना पनि जोडिएको छ।'
फिल्मका कलाकार निश्चित भए पनि नाम सार्वजनिक गरिएको छैन। यही फागुन १ गते युनिटले फर्स्ट लुक सार्वजनिक गर्ने बताए। फिल्मको टिजर पोस्टर नयाँ वर्ष २०७४ को पहिलो दिन र फिल्म भने २०७४ को दसैंमा रिलिज गर्ने निर्देशक बलामीले जानकारी दिएका छन्।
फिल्म महेशराज ढकाल, विक्रम श्रेष्ठ र दीपेन्द्र शाक्यले निर्माण गर्नेछन्। जसका लागि १ करोड ५० लाख लगानी गर्ने उनीहरुको भनाइ छ।
बलामी निर्देशित 'द फेमस' भने यही मंसिर ३ गते बाट प्रदर्शनमा आउँदैछ।