PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

पुनर्निर्माण सकिएको बौद्धनाथ चैत्यमा प्राण प्रतिष्ठा गरिने, ३ गतेदेखि विशेष पूजा



पहिलोपोस्ट

पुनर्निर्माण सकिएको बौद्धनाथ चैत्यमा प्राण प्रतिष्ठा गरिने, ३ गतेदेखि विशेष पूजा

काठमाडौँ : बौद्धनाथ क्षेत्र विकास समितिले मङ्सिर ३ देखि ५ गतेसम्म बौद्धनाथ चैत्यमा विशेष पूजा गर्ने भएको छ।
 
बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा गर्न लागिएको हो। बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरु तथा बौद्ध विद्वान्का साथै सम्बन्धित धर्मावलम्बीको सहभागितामा सो कार्यक्रम गरिने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए।
 
महायानी सम्प्रदायअन्तर्गत निङ्मा, काग्यु, गेलुक र शाक्य सम्प्रदायका ठूला धर्मगुरुले शान्तिका लागि परित्राण पाठ गर्ने कार्यक्रम रहेको बौद्ध विद्वान् टीका शेर्पाले बताए।
 
गत वर्षको बैसाखमा आएको भूकम्पका कारण चैत्यमा क्षति पुगेकाले विभिन्न दातृ सङ्घसंस्थाबाट स्रोत सङ्कलन गरी सोही वर्षको जेठ १० गतेबाट केही भाग जीर्णोद्धार तथा केहीमा पुनःनिर्माणसमेत गरिएको छ। करिब रु २३ करोडको लागतमा चैत्यको जीर्णोद्धार कार्य सम्पन्न गरिएको समितिको भनाइ छ।
 
विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको उद्घाटन मङ्सिर ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गरिनेछ। सो उद्घाटन कार्यक्रमका लागि श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड लगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको समितिका अध्यक्ष लामाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell