PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

​संविधान संशोधनको अन्तिम तयारीका बेला किन झरे रामचन्द्र मधेसतिर?



पहिलोपोस्ट

​संविधान संशोधनको अन्तिम तयारीका बेला किन झरे रामचन्द्र मधेसतिर?

काठमाडौं : संविधानमा तराई-मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि संविधान संशोधनको अन्तिम तयारी भइरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकसाता लामो तराई यात्रामा निस्केका छन्। भातृ संगठन नेपाल तरुण दलको सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर पोखराबाट फर्केको भोलिपल्टै नेता पौडेल आज तराई यात्रामा निस्केका हुन्। 
 
मंसिर २ गते वीरगन्जबाट तराई यात्रा सुरु गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको भ्रमण सकेर मंसिर ७ गते पौडेल राजधानी फर्कने कार्यक्रम तय भएको उनका सहयोगी चिरन्जीवी अधिकारीले बताए। संविधानमा मधेसीहरुले देखेको समस्या सम्बोधन गर्न कस्तो संशोधन आवश्यक छ भन्ने विषयमा तराईका कांग्रेसका नेता-कार्यकर्ता र बुद्धिजीवीहरुसँग समेत पौडेलले छलफल गर्नेछन्।

पौडेलले गएको कात्तिक २ गते काठमाडौमा रहेका मधेसका बुद्धिजीवीहरुसँग छलफल गरेका थिए। ‘संविधान संसोधनका बारेमा तराई-मधेसका जनतासँग साक्षात्कार गर्ने उद्देश्यले अहिले २ नम्बर प्रदेशका सबै जिल्लामा जान लाग्नुभएको हो,’ पौडेलका सहयोगी अधिकारीले भने।
 
नेता पौडेल आजै नेपाली कांग्रेस पर्साले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन्। पर्सामा उनले नेपाली कांग्रेसका नेता-कार्यकर्तासँग छलफल गर्नुका साथै संविधान संशोधनमा समेट्नुपर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ। त्यसैगरी भोलि बारामा नेपाली कांग्रेसका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
 
आगामी शनिबार रौतहट कांग्रेसले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने आइतबार सर्लाहीको आमसभालाई सम्बोधन गर्ने तथा नेपाली कांग्रेसका कार्यकर्ता तथा बुद्धिजीवीहरुसँग छलफल गर्ने कार्यक्रम छ। आगामी ६ गते पौडेलको महोत्तरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। ७ गते धनुषामा कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट सकेर उनी राजधानी फर्कने कार्यक्रम छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell