काठमाडौँ : महाभियोग सिफारिस समितिले आवश्यक परे लोकमानसिंह कार्कीको घरमा खानतलासी गर्ने भएको छ।
समितिले बिहीबार पारित गरेको कार्यविधिमा महाभियोग लागेका व्यक्ति कार्यरत स्थान र सम्बन्धित निकायमा छानबिन गर्ने प्रावधान राखिएको हो।
यसअघि खानतलासी राख्ने कि नराख्ने भन्ने विषयमा दलहरुबीच विवाद भएको थियो। समितिका सदस्य दीलनाथ गिरीले पहिलोपोस्टसित भने - 'खातनलासीको प्रावधान राख्ने गरी कार्यविधि पारित भयो।'
समितिले तयार गरेको अनुसन्धान तथा छानविन सम्बन्धि कार्यविधिमा 'आरोप लागेको व्यक्ति कार्यरत रहेको निकाय वा त्यस्तो व्यक्तिसँग सम्बन्धित अन्य स्थानको आवश्यकता अनुसार अवलोकन तथा निरीक्षण तथा खानतलासी' गर्ने उल्लेख छ।
त्यस्तै समितिले महाभियोगबारे कुनै तीन सांसदले अनुमोदन गरेर प्रस्तुत गरेको उजुरी उपरसमेत छानविन गर्ने भएको छ। 'उजुरीकर्तालाई समेत छलफलका लागि बोलाउने गरी कार्यविधि तयार गरियो', गिरीले भने। समितिको अनुसन्धान कार्यविधिमा भनिएको छ - प्रस्ताव पेश गर्ने वा सूचना जानकारी वा उजुरी प्रमाणित गर्ने सदस्यसँग तथ्य र प्रमाण माग गर्ने।'
समितिले महाभियोग लागेका व्यक्ति उपर तीन सांसदहरुले रुजु गरेको अवस्थामा सर्वसाधारणले समेत उजुरी गर्न सक्ने प्रावधान राखेको छ।
त्यस्तै समितिले कुनै पनि महाभियोग लागेका व्यक्तिलाई समय दिएर समितिमा बोलाउने छ। तर बोलाउँदा समेत नआएको अवस्थामा भने सार्वजनिक सञ्चार माध्यमबाट बोलाउने प्रावधान कार्यविधिमा छ।
समितिले महाभियोग लागेको एक महिनाभित्र प्रतिवेदन संसदमा पेश गर्नुपर्ने प्रावधान नियमावलीमा गरिएको छ। कार्यविधिले महाभियोग लागेका व्यक्ति उपर भएको पहिलो बैठकबाट एक महिनाको गणना हुने व्यवस्था गरेको छ।
गत कात्तिक ३ मा १ सय ५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग दर्ता गरेका थिए। संसदमा हाल सैद्धान्तिक छलफलमा रहेको विषय संसदबाट छानबिनका लागि समितिमा आउनेछ।