
काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा सेमिफाइनलमा लाओसविरुद्ध दुई पेनाल्टी रोकेका नेपालका गोलरक्षक किरण चेम्जोङले आफ्नो कन्फिडेन्सकै कारण पेनाल्टी रोक्न सफल भएको बताएका छन्।
निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा रोकिएपछि किरणले पेनाल्टी सुटआउटमा लाओसका दुई खेलाडीको पेनाल्टी रोकेपछि नेपाल ३-० ले विजयी भएको थियो।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजना गरेको सम्मान कार्यक्रमपछि प्रतिक्रिया दिँदै किरणले भने, 'खेल पेनाल्टी सुटआउटमा पुगे पनि मलाई पेनाल्टी रोक्छु भन्ने सेल्फ कन्फिडेन्स थियो। अरु खेलाडीहरुले पनि मलाई हौसला दिइरहेका थिए। उनीहरु पनि मप्रति कन्फिडेन्स थिए कि हाम्रो गोलकिपरले पेनाल्टी रोक्छ भन्नेमा।'
आफूहरु फाइनल जित्नेमा ढुक्क रहेको पनि उनले बताए। सबैले सकारात्मक आत्मविश्वासका साथ खेलेकाले नै जित्न सफल भएको किरणको भनाइ छ। 'मैले आफ्नो ठाउँबाट सक्नेजति नै दिएको थिएँ, जसले गर्दा हामी सफल भयौं,' उनले भने।
खेलेका चार खेलमध्ये नेपालको लागि लाओस विरुद्धको सेमिफाइनल खेल नै फाइनल सरह रहेको किरणले बताए। 'हामीले लाओससँग १२० मिनेट खेल्यौं र टाइब्रेकरमा गएर जित्यौं, त्यो खेल नै फाइनल जत्तिकै थियो।'
अर्को पोलबाट फाइनलमा आउने टिमको खेल नियालिरहेको उनले बताए। 'त्यसकारण पनि उक्त टिमको कमजोरी थाहा थियो। त्यसैले हाम्रो लागि लाओस विरुद्धको खेल नै फाइनल सरह रह्यो।'