PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खुट्टा काट्ने नियमको विवाद समाधान गर्न प्रज्ञाले गर्‍यो शब्दकोशै खारेज



फणीन्द्र संगम

खुट्टा काट्ने नियमको विवाद समाधान गर्न प्रज्ञाले गर्‍यो शब्दकोशै खारेज

काठमाडौं : भाषा सम्बन्धी देखिएको विवाद समाधानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले अहिले प्रचलित नवौं संस्करणको शब्दकोश खारेज गर्ने निर्णय गरेको छ। 

तत्काललाई 'नेपाली बृहत् शब्दकोश'को प्रचलित संस्करण वेबसाइटबाट हटाउने र दसौं संस्करण प्रकाशनअघि २०५८ र २०६७ कै शब्दकोशलाई मान्यता दिइने एकेडेमीले जनाएको छ। 

पछिल्लो समय उठेका असन्तुष्टि सम्बोधन गर्न र विवाद समाधानका लागि एकेडेमीले निर्णय लिएको सदस्य सचिव प्राडा जीवेन्द्रदेव गिरीले बताए। 'खुट्टा काट्ने नियमप्रति बढी असन्तुष्टि देखिएको थियो,' पहिलोपोस्टसँगको कुराकानीमा गिरीले भने, 'अहिलेको शब्दकोशमा देखिएका कमजोरी सच्याएर अर्को संस्करणको तयारीमा छौं।' एकेडेमीले चालेको एकपक्षीय कदमप्रति विरोध हुन थालेपछि निर्णयमाथि पुनरावलोकन गर्दै सुझाव लिन र मानक भाषा तयार गर्न विज्ञ समिति पनि बनाइएको थियो। एकेडेमीको प्राज्ञ परिषद्ले बनाएको विज्ञ समितिमा प्राडा चूडामणि बन्धु संयोजक तथा प्राडा नोबलकिशोर राई र हेमनाथ पौडेल सदस्य छन्।

भाषालाई सरल बनाउँदै लैजानुको साटो एकेडेमीले शब्दहरुमा जथाभावी खुट्टा काट्ने नियम लाद्न खोजेपछि चौतर्फी विरोध भएको थियो भने विवाद चर्किँदै गएपछि निर्णय सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट पनि परेको थियो। 

भाषामाथि सरोकार राख्ने व्यक्तिहरु, विभिन्न संघसंस्था, विश्वविद्यालयका प्राध्यापकहरु तथा  पछिल्लो समय संगठित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल लगायतले दबाब दिँदै आएका थिए। सञ्जालले गत असोज २ र कात्तिक २३ गते एकेडेमीसामु अवधारणा पत्रसमेत बुझाएको थियो। सोही अनुरुप नै कमीकमजोरी सच्याउँदै कात्तिक ३० गते बसेको प्राज्ञ परिषद् बैठकले अहिलेको शब्दकोश खारेज गर्ने निर्णय गरेको हो।

त्रिवि नेपाली विभागका प्राध्यापकहरु तथा अन्तर्राष्ट्रिय सञ्जालले पटकपटक दबाब दिएपछि सफलता प्राप्त भएको यसका संयोजक प्राडा खगेन्द्रप्रसाद लुइँटेलले बताए। 'कुनै पनि हालतमा निर्णय सच्याउन कात्तिक मसान्तसम्मको अल्टिमेटम नै दिएका थियौं,' उनले भने, 'उहाँहरुले ३० गते नै गरेको निर्णयको पत्र मलाई आजमात्र प्राप्त भएको हो।'

यसैगरी एकेडेमीले पाठकहरुले खरिद गरेको नवौं संस्करणको साटो प्रकाशनपछि दसौं संस्करणको शब्दकोश उपलब्ध गराउने भएको छ। एकेडेमीको अधिकृत बिक्रेताबाट खरिद गरेका पाठकहरुले नयाँ संस्करण साट्नका लागि बिलसहित आउनुपर्ने र मूल्य समायोजनका आधारमा दसौं संस्करण प्रदान गरिने सदस्य सचिव गिरीको भनाइ छ। नयाँ शब्दकोश निर्माणका लागि भने कुलपतिसहित पाँच जनाको समिति बन्नेछ।समितिमा रहने सदस्यहरु कुलपतिले नै तोक्नेछन्।

सञ्जालका संयोजक लुइँटेलले भने वर्णविन्यास सम्बन्धी आफूहरुबीच भएको 'भद्र सहमति' अनुसार नै नयाँ शब्दकोश छापिनुअघि दुवै पक्ष बसेर प्रमाणित भएपछि छपाइका लागि पठाइने बताएका छन्।

यस्तो छ एकेडेमीको निर्णय-

एकेडेमीले पछिल्लो समय विवादित खुट्टा काट्ने नियमलाई सच्याउँदै पुरानो संरचनालाई प्रयोग गर्ने लगायतका विभिन्न निर्णय गरेको छ। संयुक्त व्यञ्जन वर्णलाई पुरानै संरचनामा प्रयोग गर्दा अब बुद्ध, युद्ध, द्वन्द्व, विद्या नै लेख्नुपर्नेछ।

अन्य परिमार्जन र सुधारलाई एकेडेमीको यो पत्रले प्रस्ट पारेको छ- 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell