काठमाडौं : सरकारले विशिष्ट व्यक्तिलाई दिँदै आएको उपचार खर्च कटौती गर्दा कति विपन्न नेपालीले उपचार पाउँछन् होला?
वीर अस्पतालको सामाजिक सेवा इकाइको तथ्याङ्कले देखाउँछ- ५० लाख रुपैयाँले ६ हजारभन्दा बढी विपन्न नागरिकले उपचार पाउन सक्छन्।
गत बैसाखदेखि कात्तिक महिनासम्म सामाजिक सेवा इकाइ वीर अस्पतालबाट मात्र ३ हजार ५८९ विपन्न नागरिकले २८ लाख ९३ हजार रुपैयाँ बराबरको उपचार सहायता पाएको इकाइका प्रमुख टीकाराम पनेरुले बताए। उनका अनुसार ३ सय जनाले इमर्जेन्सीमा भर्ना भएर, ६५६ जनाले वार्डमा भर्ना भएर र २ हजार ६३३ जनाले ओपिडी सेवा लिएर उपचार सहायता पाएका छन्।
यसरी ७ महिनामा ३५ सय नागरिकलाई करिब २९ लाख रुपैयाँले उपचार सम्भव भएको पनेरु बताउँछन्। यही संख्यामा बिरामी आउने हो भने वार्षिक ५० लाख रुपैयाँमा ६ हजार नागरिकले उपचार पाउने उनको दाबी छ।
नि:शुल्क उपचार कसलाई?
२०७१ सालबाट लागू भएको यो कार्यक्रममा गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैङ्गिक हिंसापीडित, महिला स्वास्थ्य स्वयंसेविकाले मात्र उपचार सहायता पाउँथे। अहिले यो महिनादेखि प्राकृतिक प्रकोप (भूकम्प, बाढीपहिरो र आगलागी) पीडित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा र अभिभावक नभएका दुर्घटनामा परेका आकस्मिक बिरामीले यो सेवा लिन पाउँछन्।जेष्ठ नागरिकको हकमा पहिले ७५ वर्ष उमेरहद लगाएकोमा यही मंसिर महिनादेखि ७० वर्षमाथिका जेष्ठ नागरिकले उपचार पाउने पनेरुले बताए। विपन्न नागरिकको हकमा भने गाविसले विपन्न भनी सिफारिस गरेको पत्र आवश्यक पर्ने निर्देशिका भए पनि व्यक्तिलाई हेरेर निर्णय लिने अधिकार सामाजिक सेवा इकाइमा छ। यसको अर्थ हो बिरामी साँच्चैको गरिब छ भने सिफारिस नभए पनि निःशुल्क उपचार पाउँछ।
कसरी लिने उपचार सेवा?
तपाईं माथिको मध्ये कुनै पनि वर्गमा पर्नुहुन्छ भने तपाईंले उपचार सहायता पाउनुहुन्छ। त्यसका लागि तपाईंले उपचार गराइरहेको अस्पतालमा सामाजिक सेवा इकाइ छ/छैन सोध्नुहोस्। यदि छैन भने नजिकैको कुन अस्पतालमा सोध्नुहोस् र त्यहाँ गएर आफ्नो समूहको परिचयपत्र देखाई वा नदेखाई पनि उपचार सहायता लिन सकिन्छ।कुनकुन अस्पतालमा छ सेवा?
पाइलट प्रोजेक्टको रुपमा सुरुमा ८ वटा अस्पतालमा मात्र यो सेवा लागू गरिएको थियो। सेवा प्रभावकारी हुँदै गएपछि अहिले १४ वटा अस्पतालमा यो सेवा लिन पाइन्छ।१, वीर अस्पताल, काठमाडौं
२, कान्ति बाल अस्पताल, महाराजगन्ज काठमाडौं
३, परोपकार स्त्री रोग अस्पताल, थापाथली काठमाडौं
४, भरतपुर अस्पताल, चितवन
५, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
६, राप्ती उपक्षेत्रीय अस्पताल, दाङ
७, कोसी अञ्चल अस्पताल, विराटनगर
८, भेरी अञ्चल अस्पताल, नेपालगन्ज
९, सेती अञ्चल अस्पताल, धनगढी
१०, धौलागिरी अञ्चल अस्पताल, बागलुङ
११, लुम्बिनी अञ्चल अस्पताल, बुटवल
१२, हेटौंडा अस्पताल, हेटौंडा
१३, त्रिशूली अस्पताल, नुवाकोट
१४, गोर्खा अस्पताल, गोर्खा