काठमाडौं : राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र विस्तारको काम २६ प्रतिशत सकिएको छ। आयोजनाको कच्ची रनवे तयार भइसकेको हो।
चालू आर्थिक वर्षभित्र विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख ओम शर्माले बताए। रनवे निर्माण लगायत सबै काम समान गतिमा अघि बढाइएको उनले जानकारी दिए।
रनवे निर्माण क्षेत्रमा पर्ने घाग्रो खोलालाई साढे २ किलोमिटर लम्बाइ र ३३ मिटर चौडा च्यानलको डाइभर्सन बनाइएको छ।
३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको विमानस्थलको रनवेमा कच्ची अर्थर सवगार्ड तयार भएको छ। अब त्यसमाथि दुई तहको 'रिभरमेड मेटेरियल' राखेपछि यो चरणको दुई तिहाई काम सकिने शर्माले जानकारी दिए। त्यसपछि रनवेमा 'सब बेस र बेस'को काम सुरु हुनेछ।
कच्ची अर्थर सवगार्ड बनेसँगै अब जहाजलाई आपतकालीन अवतरण गर्न सकिने भएको छ।
१५ हजार वर्ग मिटर क्षेत्रफलमा बनिरहेको अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम पनि २५ प्रतिशत सकिएको शर्माले बताए। त्यससँगै विमानस्थलको प्रशासकीय भवन र एयरपोर्ट कन्ट्रोल टावरको काम जमिनको सतहसम्म (प्लिन्थ लेभल) आइपुगेको छ। 'बेसमेन्ट' सहित तीनतले यो भवन नजिकै ३२ मिटर अग्लो टावरको काम अघि बढेको छ।
काम यही गतिमा भए अबको करिब डेढ वर्षपछि विस्तारित विमानस्थल सञ्चालनमा आउनेछ। यहाँबाट क्षेत्रीय स्तरको उडान हुनेछ। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप त घटाउने नै छ, लुम्बिनीमा धार्मिक पर्यटक बढाउन पनि ठूलो भूमिका निभाउने सरकारी अधिकारीको विश्वास छ।
प्रशासकीय भवन नजिकै विमानस्थलको महत्वपूर्ण अंगको रुपमा रहने 'फायरफाइटर'को भवनसमेत निर्माण सुरु भएको छ। एम्वुलेन्स, दमकल सहित सय जना फायरफाइटर यो भनवमा बस्नेछन्।
एयरपोर्ट वरिपरि सुरक्षाका लागि तारबार गर्ने काम पनि सुरु भएको शर्माले जानकारी दिए। विमानस्थल वरिपरिको ७ किलोमिटर क्षेत्रमा सडक बनाउने काम पनि सुचारु भएको छ।
पछिल्लो चरणमा विकास भइरहेको प्रविधिमा आधारित यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँग क्षमतामा बराबर र त्योभन्दा सुविधासम्पन्न हुने शर्माको भनाइ छ। त्रिभुवन विमानस्थलमा वेलावखत मौसमका कारण विमान अवतरण र उडानमा समस्या हुने गरे पनि भैरहवामा हुनेछैन।
'आइएलएस क्याटोगोरी टु'मा अपग्रेड गरिने
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक बनाउन 'क्याटोगोरी टु'मा अपग्रेड गरिने भएको छ। यो संसारमा भएका एभरेज विमानस्थलभन्दा नयाँ, प्रविधिमैत्री र अत्याधुनिक हो।क्याटोगोरी टुमा अपग्रेड गरिएपछि ‘एरो ब्रिज’ बनाउने र ‘रन वे सेन्टर लाइन लाइटिङ सिष्टम’मा स्तरोन्नति गरिने छ। यो विमानस्थलमा वोइङको ७७७ मोडेलसम्मको विमान अवतरण र उडान गर्न सक्ने छ।
‘एरो ब्रिज’ भनेको टर्मिनल भवनबाट सिधै जहाजमा चढ्न र जहाजबाट टर्मिनल भवनमा झर्न मिल्ने विद्युतीय पुल हो । धावनमार्गमा ‘लाइटिङ सिस्टम क्याटेगोरी टु’ को व्यवस्था भएपछि खराब मौसममा समेत जहाजहरु सहजै उडान र अवतरण गर्न सक्छन्।
१५ वटा विमान अट्ने पार्किङ वे
हाल यो विमानस्थलमा ६ वटा विमान पार्किङ गर्ने क्षमतामा बनिरहेको छ। तर, त्यति मात्र अट्ने बनाउँदा पछि सानो हुने र पार्किङमा समस्या पर्ने भएका कारण क्षमता बढाएर १५ वटा जहाज सम्म राख्न मिल्ने बनाउन लागिएको शर्माले बताए।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूरकको रुपमा बनाउन लागिएको गौतम बुद्ध विमानस्थलबाट भारत, चीन, थाइल्याण्ड, श्रीलंका तथा मध्यपूर्वी क्षेत्रमा उडान गरिनेछ।
४२८ बिघा जमिन थपिँदै
२८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जग्गा अपुग भएको छ। त्यसका लागि ४२८ रोपनी थप गर्नका लागि गृहकार्य भइरहेको शर्माले बताए। अब विमानस्थलको कुल क्षेत्रफल ७१५ विगाहा पुग्नेछ। थप जग्गा प्राप्तिका लागि मुआव्जा बारेमा अध्ययन भइरहेको र छिटै टुङ्गो लाग्ने उनले जानकारी दिए।नाकाबन्दीमा इन्धन, अहिले ढुङ्गागिटीको अभाव
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा बनाउन लागिएको गौतम बुद्ध विमानस्थललाई तीन वर्षभित्रै निर्माण सक्ने भन्दै २०७१ को माघदेखि काम सुरु गरिएको थियो। तर, भूकम्प र त्यसपछिको तराई आन्दोलनका कारण निर्माण कार्य प्रभावित हुनपुग्यो।'त्यो बेला भारतले लगाएको नाकाबन्दीका कारण इन्धनको अभावले काम प्रभावित भएको थियो तर अहिले भने बेला बेला गिटी बालुवाको अभाव खड्किने गरेको छ,' शर्माले भने। १५ किलोमिटर टाढाको तिनाउ खोलाबाट गिटी बालुवा ल्याउन स्थानीयबासीसँग छलफल अगाडि बढेको र एक-दुई दिनभित्रै सहमति हुने शर्माले बताए।
यो विमानस्थल एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो। चीनको नर्थ वेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सन कम्पनीले भौतिक संरचना निर्माणको काम गरिरहेको छ भने दक्षिण कोरियाको योसिन इन्जिनियरिङ कन्सल्टेन्ट कम्पनीले डिजाइन र सुपरिवेक्षणको काम गर्दैछ। कोरियाकै योसिनले क्वलिटी कन्ट्रोलको काम पनि गर्नेछ।
यो विमानस्थल सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्नेगरी ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा चिनियाँ कम्पनीले ठेक्का लिएको थियो। परियोजना सम्पन्न हुँदासम्म लागत करिब ९ करोड अमेरिकी डलर (साढे ९ अर्ब रुपैयाँ भन्दा बढी) पुग्ने अनुमान गरीएको छ।