PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

वन अतिक्रमणको आरोप लागेपछि केबुलकार निर्माण कार्य अवरुद्ध



पहिलोपोस्ट

दोलखा : कालिन्चोकमा केबुलकार निर्माणमा संरक्षित वन अतिक्रमण भएको भन्दै जिल्ला वन कार्यालय, दोलखाले पत्र काटेको छ। 

दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा केबुलकार निर्माणको काम सुरु हुनैलाग्दा स्थानीयवासी र गु्ठीलाई कुनै जानकारी नदिएको भन्दै स्थानीयवासीले पनि विरोध गर्न थालेपछि केबुलकार निर्माणमा कठिनाइ उत्पन्न भएको छ। 

जिल्ला वन कार्यालय, दोलखाका अधिकृत विष्णुप्रसाद भण्डारीले स्थानीयवासीले केबुलकार निर्माणमा वन अतिक्रमण भएको निवेदन गरेपछि आफूले वन अतिक्रमण नगर्न र वन अतिक्रमण गर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र लेखेको बताए।

कालिन्चोकको कुरीबजारदेखि केबुलकार स्टेसनसम्म पुग्ने सडक निर्माणका लागि डोजरले काम सुरु गरेलगत्तै स्थानीय तहमा विवाद सुरु भएको हो। कालिन्चोक दर्शन प्रालिले केही दिनयता डोजर लगाएर सडक निर्माणको काम गरिरहेका बेला स्थानीयवासीले पाउने सेयर लगायतका सेवासुविधा प्रस्ट भएर मात्रै काम अघि बढाउनुपर्ने माग अघि सारेका छन्। 

स्थानीयवासीको विरोधलगत्तै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको गुठी समितिले पनि आयोजनाको विस्तृत विवरण र जानकारीसमेत नदिई काम अघि बढाएकोमा असन्तुष्टि जनाउँदै कालिन्चोक दर्शन प्रालिलाई सम्पूर्ण विवरण माग गरेको छ। 

गुठी समितिको बिहीबारको बैठकमा कालिन्चोकमा केबुलकार निर्माणको सन्दर्भमा आवश्यक सबै कागजात मगाउने विषयमा छलफल भएको थियो। सोही अनुसार गुठी समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले कालिन्चोक केबुलकार निर्माणका लागि गरिएको विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, स्थानीयवासीलाई शेयर लगायतका सेवासुविधासम्बन्धी व्यवस्थालगायत कागजात माग गरिएको बताए।

स्थानीयवासीको विरोध र गुठी समितिले विवरण माग गरेसँगै केबुलकार निर्माणका लागि सुरु गरिएको सडक निर्माण कार्य केही दिनदेखि रोकिएको छ। यद्यपि, कालिन्चोक दर्शन प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण सिवाकोटीले भने केबुलकार निर्माणमा कुनै अवरोध नभएको दाबी गरेका छन्। 

दोलखाको धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी केबुलकार निर्माणको काम सुरु गर्न लागिएको हो। त्यसका लागि सडक मर्मतसम्भार र नयाँ ट्र्याक खोल्ने काम केही दिनअघि मात्रै सुरु भएको थियो। रु २६ करोडको लागतमा निर्माण हुने केबुलकारमा १२ जना मानिस अट्न सक्ने क्षमताको दुई डिब्बा हुनेछन्। दैनिक ८ घन्टा केबुलकार सञ्चालन हुँदा एक हजार ८ सय जनाले सेवा पाउने बताइएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell