
- सरिता पौडेल
अस्पतालको प्याथोलोजी विभाग अन्तर्गतका सामानहरु लापरबाहीका कारण नष्ट भएका हुन्। बिरामीको रगत र मासुको जाँचका लागि मेसिन तथा उपकरणमा प्रयोग गरिने रिएजेन्ट, किट्सहरु प्रयोगबिना नै मिति गुज्रिएको खुलेको हो।
रिएजेन्ट तथा किट्सहरुबारे समस्या आएको गुनासो बढेपछि अस्पतालले छानबिन समिति बनाएको थियो। समितिले स्टोर, विभाग, गुणस्तर उपसमिति एवं सम्बन्धित युनिटमा प्रयोगकर्ताबीचको समन्वय र संयन्त्रबीच समझदारी नहुँदा लाखौंको सामान नष्ट हुन पुगेको निष्कर्ष निकालेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. सिबी पुनले आवश्यकभन्दा बढी माग भएकाले केही सामानको डेट एक्सपार्ड भएको स्वीकार गरे। हरेक वर्ष डिस्पोज हुने सामान भएकाले गत वर्षहरुको समेत थपिँदा धेरै देखिएको उनको भनाइ छ। 'सन् १९९९ देखिको डिस्पोज हुन बाँकी थियो,' उनले भने, 'मुचुल्का उठाएर राखिएको छ। अख्तियारले छानबिन गरिरहेकाले उनीहरुले टुंग्याउनेछन्।'
अस्पताल कर्मचारीको कमजोरी पाइए कारबाही भोग्न तयार हुनुपर्ने उनको भनाइ छ। कार्यकारी निर्देशक पुन प्याथोलोजी विभागका प्रमुख समेत हुन्।
अस्पतालका उपनिर्देशक डा. डेज गौतमको संयोजकत्वमा गठित छानबिन समितिले औषधिजन्य पदार्थमा खेलबाड नगर्न अस्पताललाई सुझाव समेत दिएको छ।
यस सम्बन्धमा छानबिनका लागि अख्तियारको टोली चितवन आएको छ।