चितवन : शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद समाधानका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
प्रेस सेन्टर नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद सामाधानका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन संशोधनको तयारी अघि बढिरहेको जानकारी दिए। यसका लागि सारोकारवालासँग छलफल भइरहेको बताउँदै उनले ऐन संशोधनपछि दुवै विश्वविद्यालयबीचको विवाद समाधान हुने बताए।
कार्यदल बनाएर प्रतिवेदन तयार गर्ने काम पनि भइरहेको भन्दै मन्त्री पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ऐन संशोधन गरिने बताएका छन्।
राजनीतिक दलहरुको प्रतिबद्धता र प्रयत्नका कारण विश्वविद्यालय स्थापना गरिएको हो भन्दै उनले अहिलेको विवाद समाधानका लागि पनि दलहरुको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।
एक फरक प्रसङ्गमा मन्त्री पौडेलले मधेसवादी दलका समस्या समाधानका लागि सरकारले त्रिपक्षीय छलफल गरिरहेको भन्दै छलफलपछि संविधान संशोधनको मस्यौदा पेस गरिने बताए।रासस