काठमाडौं : कूटनीतिक पहलपछि झन्डै एक महिनापछि कोलकाता बन्दरगाहबाट नेपाली सामान बोकेका कन्टेनर नेपाल आउन थालेका छन्। बन्दरगाहमा कन्टेनरको 'फ्लो' बढी भएपछि नेपाली सामान बोकेका कन्टेनर रोकिएका थिए।
कोलकातास्थित महावाणिज्य दूतावासको कूटनीतिक पहलपछि नेपाली सामान बोकेका कन्टेनर जाँचपास भएका हुन्। महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली सामान बोकेका कन्टेनरको बन्दरगाहबाट जाँचपास भएर नेपालतर्फ हिँडिसकेको जानकारी दिए।
उनले बन्दरगाह प्रशासन, भन्सार लगायतका निकायलार्इ नेपाली कन्टेनरलार्इ प्राथमिकतामा राखेर जाँचपास गर्न आग्रह गरेको बताउँदै उनीहरुले खाली कन्टेनर हटाएर नेपालीलार्इ प्राथमिकतामा राख्न थालेको जानकारी दिए।
तिहारपछि नेपालबाट खाली कन्टेनर धेरै गएर ट्राफिक बढाएको भन्दै नेपाली सामान बोकेको कन्टेनरको जाँचपास गरेका थिएनन्। झन्डै एक महिनादेखि कोलकाता बन्दरगाहमा कन्टेनर रोकिँदा नेपाललार्इ तत्कालै आवश्यक पर्ने सामान ल्याउन सकिएको थिएन।
जनकपुरमा निर्माण भइरहेको ढल्केवर सवस्टेशनलार्इ आवश्यक पर्ने मेसिनरी समेत कोलकातामै रोकिएको थियो। कोलकातामा सामान रोकिँदा ढल्केवर सवस्टेशनको पोल निर्माणमै बाधा परेको थियो।
कोलकाता बन्दरगाह व्यवस्थित नहुँदा पटक-पटक सामान ल्याउँदा विभिन्न अवरोध हुने गर्छ।