PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कान्तिपुर गाथा : मन्त्रीज्यूसँग कनिकाको अन्तरंग वार्ता



किशोर नेपाल

कान्तिपुर गाथा : मन्त्रीज्यूसँग कनिकाको अन्तरंग वार्ता

सुदिप्तीले कनिकालाई यो साता नयाँ काम दिई– कुनै सेलेब्रिटी व्यक्तित्वको इन्टरभ्यू लिने। कनिकाले हुन्छ त भनी। तर उसलाई कसोकसो अप्ठेरो लागेको थियो। उसले सबभन्दा पहिले सेलेब्रिटी व्यक्तित्वको छनोट गरी। इन्टरभ्यूको लागि प्रश्न तयार गरी। त्यसपछि सेलेब्रिटीलाई फोन गरी। 

कनिकाले छानेका सेलेब्रिटी थिए, एक चर्चित मन्त्रीज्यू। उसले मन्त्रीज्यूलाई फोन गरी। पिएले फोन मन्त्रीज्यूलाई टक्य्राएपछि उसले इन्टरभ्यूका लागि समय मागी। मन्त्रीज्यू तयार थिए। 

प्रस्तुत छ, मन्त्रीज्यूसँग कनिकाको रोचक इन्टरभ्यू :

कनिका : नमस्कार, मन्त्रीज्यू। आराम हुनुहुन्छ?
मन्त्रीज्यू : नमस्कार। खोइ, आराम छु भनौं कि के भनौं? देशको अवस्था यस्तो छ। यो रुघाखोकीले पनि कहिल्यै छोडेन। आराम छु पनि कसरी भनौं र? हिजो फेमिलीलाई डिनरमा लैजान्छु भनेको थिएँ। ‘जात्रा’ हेर्न जाने योजना थियो। टाइम नै भएन। केको लैजानु? तै, घरमा चाँडै कुरा बुझिएछ। यो राजनीतिक सामाजिक र पारिवारिक जीवनका बीच सन्तुलन मिलाउनै गाह्रो।

कनिका : मन्त्री परिषदमा चाहिँ सन्तुलन मिलाउन कति सजिलो छ त?
मन्त्रीज्यू : त्यहाँ त सन्तुलन मिलाउने भन्दा पनि भागबण्डा हो। संसदीय व्यवस्थामा जस्तो व्यवस्थापिका संसदीय व्यवस्था अन्तर्गत बनेका गठबन्धन सरकारमा ‘प्रधानमन्त्रीको विशेषाधिकार’ भन्ने छैन। हामी मन्त्रीहरु स्वतन्त्र छौं। हामीलाई त पार्टीले सरकारमा पठाएको। हामी पार्टीप्रति जिम्मेवार छौं। तर, पार्टीले भनेपनि हामी मन्त्री छोडन बाध्य छैनौं। किनभने, पार्टीमा पनि हामी गुटका प्रतिनिधि हौं।

कनिका : अहिले मन्त्रीज्यूले भन्नुभए जस्तो सन्तुलन त भएन नि? खोइ त, प्रधानमन्त्रीले पचास लाख उपचार खर्च दिएरै छाडे।
मन्त्रीज्यू : अब हेर्नुहोस् न, यो पचास लाख आर्थिक सहायताको कुरा। मेरा विरोधीहरुले मलाई यसमा मुछेर बेकारमा विवादमा ल्याएका छन्। मैले मानव अधिकारको कुरा उठाउँदा पनि मलाई घैंटोसँग जोडिने काम गरियो। म आर्थिक सहायताको विरुद्ध होइन। कांग्रेस र एमालेका नेताहरुले करोडौं करोड आर्थिक सहायता लिएको र पाएको सन्दर्भमा आफ्नै पार्टीकी नेत्री, त्यसमा पनि त्यति ठूला नेताका पुत्रीलाई स्वास्थ्य–उपचारका लागि पैसा दिनेमा मेरो असहमति हुने कुरै भएन। मेरो भनाइ त कार्यविधि बन्दै छ। त्यसपछि खर्च दिनुपर्छ भन्ने हो।
 
कनिका : अहिलेसम्म सरकारबाट उपचार खर्च लिनैपर्ने अवस्थाका मानिसले पाएनन्। जो धनी छ, तिनले मात्रै आर्थिक सहायता पाए भन्ने चर्चाका बारे के भन्नुहुन्छ?
मन्त्रीज्यू : को धनी छ र को गरीब छ भन्दा पनि देशका लागि ठूलो योगदान दिएका व्यक्तिहरुलाई दिने हो यो खर्च। कोही कुनै ठूला नेताको छोरा वा छोरीका रुपमा जन्मिनु नै देशका लागि ठूलो योगदान हुन्छ। कसैको कर्म नै योगदान हुन्छ। यसमा को धनी को गरीबको कुरा आउँदैन। अब कोकोले केके योगदान गरेका छन्? त्यो पत्ता लगाउने काम मेरो मन्त्रालयको होइन। तपाईं रिपोर्टरहरुको हो।

कनिका : मन्त्रीज्यूको कार्यविधिमा पचास लाख दिने प्रोभिजन छैन रे नि त? त्यसमा दस–पन्ध्र लाखको मात्रै कुरा छ रे।
मन्त्रीज्यू : त्यो त के भो र? कार्यविधि पारित गरेपछि तीन पटक गरेर पचास लाख दिए भै गो नि।
 
कनिका : कार्यविधि नबन्दै सरकारले पचास लाख दियो। अब तपाईंको पोजिशन के त? प्रधानमन्त्री तपाईंसँग सहमत हुनुहुन्न। तपाईं प्रधानमन्त्रीसँग सहमत हुनुहुन्छ त?
मन्त्रीज्यू : क्याबिनेटमा पैसा दिने प्रस्ताव मैले लगेको होइन। गृहमन्त्रीले लगेको हो। मैले त विरोध गरेको जस्तो गरेर उल्टै सरकारी खजानाको पचास लाख बचाइदिएँ। मैले त्यति विरोध नगरेको भए करोडै जान्थ्यो। त्यसपछि त मैले प्रधानमन्त्रीको निर्णयमा सहमत नभई भएन नि। प्रधानमन्त्रीलाई कुनै अप्ठेरो नपरोस् भनेर नै म त्यो दिनको क्याबिनेटमा आइन। पोखरातिरै गुटनीति चलाएर बसेँ।
 
कनिका : क्याबिनेटमा प्रस्ताव लाने काम त सधैं गृहमन्त्रीले नै गर्ने हुन्। त्यसले के भो त?
मन्त्रीज्यू : मैले क्याबिनेटमा प्रस्ताव लगेको होइन भनेको। त्यहाँ पनि अलिकति राजनीति छ। हाम्रो आफ्नै गुटीय राजनीति। त्यसलाई तपाईंले बुझ्नपर्ने जरुरत छ।
 
कनिका : तपाईंका धेरै फेसबुक समर्थकहरुले त मन्त्रीले कि सरकारसँग लडेर सुजातालाई दिइएको रकम ट्रेजरीमा फर्काउनुपर्यो। कि नैतिकताको आधारमा राजीनामा गर्नुपर्योज भनेका छन् नि?
मन्त्रीज्यू : मलाई थाहा छ, मेरा विरोधीहरु मलाई नैतिकताको जञ्जालमा फसाएर बदनाम गर्न चाहन्छन्। म यस्ता सानातिना कुरामा नैतिकताका कारण राजीनामा दिने मुर्खता गर्दिन। म मन्त्री पदमा रहेर, सरकारमा बसेर, मन्त्रीको सुविधा लिएर, झण्डावाल गाडीमा हिँडेरै शासनसत्तामा रहेका तमाम विकृतिसँग लड्न चाहन्छु। म सबै कुरा नियमानुसार होस् भन्ने चाहन्छु। त्यसका लागि झण्डा र डण्डा अनिवार्य चाहिन्छ। त्यो नभएसम्म नेपालको राजनीति चल्दैन। यो साबित भइसकेको कुरा हो। सोशल नेटवर्कमा दुई-चार जनाले विरोध गरे पनि मेरा हजारौं साथी मेरो राजीनामाको विपक्षमा हुनुहुन्छ। मैले मन्त्रीबाट राजीनामा दिएँ भने मेरा यी सहश्र अनुयायीहरुको तर्फबाट सरकारमा कसले प्रतिनिधित्व गर्ने? त्यसमाथि, यो मन्त्री पद मेरा साना दुःखले मात्र अर्जेको होइन। यसमा सिटौलाजीको शुभाशिष् र शुभाकांक्षा छ। उहाँको वचन भए म अहिल्यै राजीनामा दिन्थे। उहाँको इच्छा त्यस्तो छैन।
 
कनिका : अब ती अनसन बूढाको कुरा गरौं। तपाई मन्त्री हुँदा ती निकै खुश थिए। अहिले फेरि अचानक अनसनमा बसेका छन्। के हुन्छ त तिनको अब?
मन्त्रीज्यू : यी सवै कुरा मैले मात्र हेर्ने होइन। म अहिले सरकारमा छु। सरकारका नीतिको प्रतिरक्षा गर्छु। तपाईंलाई थाहै छ, सरकारप्रति म निष्ठावान् छु। मन्त्री भएपछि म संसदमा रहेको महाभियोग मुद्दाबाट पनि पन्छिएँ। मेरो भनाइ बूढालाई जसरी पनि बचाउनुपर्दछ। अनसन गरेर मर्न दिनु हुँदैन भन्ने हो। सरकारले सबै काम बूढाले भनेजस्तै गर्न सक्दैन। त्यसो गर्न व्यावहारिकताले दिँदैन। दशौं पटक किन अनसन बसेका हुन्? मैले बुझेको छैन। हामी मन्त्री भइसकेपछि त उनी अनसन बस्न नपर्ने हो।
 
कनिका : जसरी मन्त्रीज्यूका अनुयायीहरुको आवाज ‘नाइदर सरेण्डर, नर रिजाइनेसन, कीप अन फाइटिङ’ छ, त्यसरी नै बूढाका अनुयायीहरुको आवाज पनि त्यही छ। त्यसैले होला अनसन बसेको।
मन्त्रीज्यू : हो, मेरो पक्षमा त अनुयायी कार्यकर्ताहरुको आवाज नै मेरो बल हो। अहिले कतिपय लाल बुझक्कडहरुले मैले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुरा उठाएर भ्रम सिर्जना गरेका छन्। तिनीहरुको चित्त बुझाउने बाटो खोज्दै छु म। नैतिकता भनेको के हो? कसैले अहिलेसम्म परिभाषित गरेका छैनन्। जहाँसम्म संघर्षको कुरा छ, त्यो सधैं गरिरहने होइन। सत्तामा बसेर पनि संघर्ष गर्न सकिन्छ। सत्तामा बसेर गरिने संघर्ष र सडकबाट गरिने संघर्ष फरक हुन्छ। सरकारमा बसेर संघर्ष गर्दा सबैलाई मिलाउनुपर्दछ। अनसन बूढाले यो कुरा बुझेनन्। पर्फेक्ट नभए पर्फेक्ट नजीकको स्थितिलाई त स्वीकार्नुपर्योअ नि। आफ्नै हितचिन्तक सरकारलाई अप्ठेरोमा पार्नु त भएन नि।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
 

यो सिरिजका अन्य गाथा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell