
काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले यही हप्ता अर्थात् मंसिर ६/७ गते नै सहमतिका साथ संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने खुलासा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले प्रमुख तीन दलबीच सहमतिकै आधारमा संविधान संशोधन प्रस्ताव पेश गर्ने वातावरण बनेको बताए।
बालुवाटारमा बिहीबार भएको तीन दलको बैठकमा शीर्ष नेताहरु संविधान संशोधनको अन्तरवस्तुमा सहमति निकट पुगेको उनको भनाइ थियो। ‘प्रधानमन्त्रीजीले निरन्तर छलफल तथा संवाद जारी राख्नुभएको छ, ठूला तीन दलहरुवीच सहमतिका साथ अघि बढ्ने वातावरण बनेको छ,' उनले भने, 'त्यसैले मंसिर ६ वा ७ गतेभित्रै संशोधन प्रस्ताव संसदमा दर्ता हुन्छ, यसमा कसैले शंका नगरे हुन्छ।’
नेता पुनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको लागि असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नका लागि संविधान संशोधनमा सबै दलबीच सहमति जुटाउन निरन्तर संवाद जारी राखेको उनले बताए।
सीमांकनको विवाद समाधानका लागि अहिले तीन वटा विकल्पबारे छलफल भइरहेको पनि नेता पुनले जानकारी दिए। उनका अनुसार ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यान लगायतका क्लष्टर मिल्ने जिल्लाहरुलाई समेटेर ८ औं प्रदेश बनाउने विकल्पका बारेमा पनि अहिले छलफल जारी छ।