
काठमाडौँ : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आज चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे।
असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै उपप्रधानमन्त्री महराले नेपालको विकासका लागि चीन सरकारबाट उपलब्ध भएको सहयोगप्रति उच्च सम्मान प्रकट गरे।
चीन सरकारबाट अगाडि बढाइएका नेपालका विकास आयोजना र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने उपप्रधानमन्त्रीको भनाइ थियो।
सो अवसरमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट उपलब्ध भइरहेको सहयोग निरन्तर रहने तथा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरिन्।रासस