PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

एक महिनामा चार दिन मात्र महाभियोगमाथि छलफल, संसद किन सुस्त?



मनोज सत्याल

एक महिनामा चार दिन मात्र महाभियोगमाथि छलफल, संसद किन सुस्त?

काठमाडौँ : अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता भएको एक महिना बितेको छ। तर प्रस्ताव अगाडि बढाउने संसद भने सुस्त छ।
 
गत कात्तिक ३ गते दर्ता भएको महाभियोग प्रस्ताव मंसिर ३ मा आइपुग्दा जम्मा चार दिन मात्र छलफलमा गएको छ। जबकि संसदले अझै लामो प्रक्रिया पार गर्नुपर्नेछ। महाभियोग सिफारिस समिति हुँदै प्रस्तावले पुन: संसदमा आएर टुङ्गोमा पुग्नेछ।
 
नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही सहित १५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता गरेको प्रस्ताव अगाडि नबढेकोमा सांसदहरु समेत चकित परेका छन्।

पहिलोपोस्टसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पनि अख्तियार प्रमुख कार्की विरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावकहरु शिथिल हुँदै गएको बताएका थिए। (क्लिक गर्नुस्- महाभियोगका प्रस्तावकहरु किन शिथिल भए?)
 
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शुक्रबार संसदको शून्य समयमा 'महाभियोको छलफल कहिले टुङ्गिने हो?' भन्दै प्रश्न गरे।
 
नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले संसदको विशेष समयमा सभामुख समक्ष माग गरे, 'महाभियोगको छलफल तीव्र गतिमा गरेर सिफारिश समितिमा पठाउनुपर्‍यो।' संसदमा महाभियोग माथिको छलफल जारी रहे पनि सांसदहरुले शून्य र विशेष समयमा समेत छलफल ढिलाइप्रति प्रश्न तेर्स्याएका हुन्।
 
संसदमा महाभियोगमाथिको छलफलमा कांग्रेसका सांसद राधेश्याम अधिकारीले छलफलको दिन तन्किएकोमा आक्रोश पोखे, 'यति लामो छलफल किन भइरहेको छ? के कारणले लम्बिरहेको छ?'
 
नेकपा एमालेका सांसद प्रकाश ज्वालाले पनि छलफल लम्बिरहेकोमा अनभिज्ञता प्रकट गरे। 'संसदमा यति लामो छलफल किन भइरहेको छ, र्‍याइँर्‍याइँ किन?'
 
नेकपा माओवादी केन्द्रका सांसद शिवकुमार मण्डलले लोकमानसिंह कार्कीले अदालतको आदेशको अवज्ञा गरेकाले महाभियोग लगाउनुपर्ने बताए। 'अदालतको आदेश मानेर योग्यताको प्रश्न फेस गर्नुभन्दा आफन्त जम्मा गरेर नाराजुलुस गराउने काम भएको छ।'
 

तन्किँदै संसद छलफल

कात्तिक ३ गते संसदमा दर्ता भएको महाभियोग प्रस्तावमाथिको छलफल कात्तिक ९ गतेबाट प्रारम्भ भएको थियो। तर छलफल सुरु भएकै दिनबाट सभामुखले बैठक १५ दिन पर सारिन्। त्यसपछि कात्तिक २५ गते मात्र सभामुखले बैठकमा छलफल गराइन्। कात्तिक २५ गतेपछि संसद बैठक कात्तिक २६ गते बस्यो। सभामुखले त्यसपछि चार दिन बैठक स्थगित गरिन्। बैठक मंसिर १ गते डाकियो। तर माओवादी सासंद भक्तिप्रसाद पाण्डेको शोकमै बैठक टुङ्गियो। यसरी शुक्रबारसम्म आउँदा चार दिनमात्र संसदमा महाभियोगमाथि छलफल भएको छ।
 
सभामुख ओनसरी घर्तीले भने छलफल आइतबारसम्म टुङ्गो लाग्ने विश्वास आफूले लिएको बताएकी छिन्। उनी आइतबार साँझ एक साताका लागि रसिया जाँदैछिन्।
 
'मलाई विश्वास छ आइतबारसम्ममा छलफल सकिन्छ, त्यसपछि समितिमा जानेछ,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell