इलाम : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत इलाम क्षेत्र नम्बर– १ का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा २३ वटा योजना पेस गरेका छन्।
आर्थिक वर्ष ०७३/७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरेअनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद खनालले बजेट कार्यान्वयनका निम्ति २३ वटा योजना पेस गरेका हुन्।
पेस गरिएका योजनामध्ये फिक्कल– पञ्चकन्या– कन्याम चक्रपथ निर्माणका लागि रु ४० लाखको योजना छ। यसैगरी इरौटारको विद्युतीकरण, जिर्मले विद्युतीतकरण सलकपुर १, २, ३ नं तथा कुवापानी लामिटार ८ र ९ नंम्बरका लागि रु २०/२० लाखको योजना जिल्ला विकास समिति इलाममा उनले पेस गरे।
कोलबुङ शङ्खर निमाबिबाट– ७ नम्बर जोड्ने सडक, छब्बिसे–छिरुवा–उत्तरे खोला श्रीअन्तु सडक मर्मत र गोदकको सार्वजनिक भवन निर्माणका लागि रु १५/१५ लाखको योजना पेस भएको छ।
सांसद खनालले पेस गरेका अधिकांश योजनामा सडक स्तरोन्नति तथा मर्मत रहेका छन्।
त्यसमध्ये सूर्योदय नगरपालिका– १० मा बसपार्क निर्माणका लागि रु १० लाख र पशुपतिनगर– ४ मा सामुदायिक भवन निर्माणका लागि रु १० लाखको योजना पनि उनल पेस गरेका छन्।
यसभन्दा अघि क्षेत्र नं– २ का सांसद सुवासचन्द्र नेम्वाङले उक्त क्षेत्रका लागि २४ वटा योजना जिविसमा पेस गरिसकेका छन्। क्षेत्र नं– ३ का सांसद केशव थापाले मात्र योजना पेस गर्न बाँकी रहेको जिविसले जनाएको छ।रासस