
पर्सा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासन कायम गर्न तथा मुलुकलाई भ्रष्टाचारबाट जोगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थालाई प्रभावकारी, बलियो, पारदर्शी र सशक्त बनाउनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन पर्साले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले र माओवादी केन्द्रले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता गराएको महाभियोग प्रस्तावमाथि संसदीय समितिले छानबिन गर्ने दोषी भेटे कारबाही गर्ने बताए। तर त्यसैको आडमा आयोगलाई नै कमजोर पार्न भइरहेको खेल मुलुकका हितमा नभएको नेता पौडेलको भनाइ छ।
यस्तै उनले संशोधनको माध्यमवाट संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका छन्। कार्यान्वयनमा देखिएका चुनौतीलाई सम्बोधन गर्नु सबै राजनीतिक दलको साझा कर्तव्य भएको उल्लेख गर्दै उनले संविधान कार्यान्वयनका लागि स्थानीय तहलगायत तीन तहको निर्वाचन गर्नु आवश्यक भएको बताए। 'तर निर्वाचनको वातावरण बनाउनका लागि संविधान संशोधन गरेर मधेसी, आदिवासी, जनजातिका गुनासालाई सम्बोधन गर्नु जरुरी छ,' उनको भनाइ थियो।
मुलुकका विद्यमान राजनीतिक विवादलाई कम गर्न तथा राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन आफू तराई– मधेस संवाद अभियानमा हिँडेको उनले प्रस्ट पारे। यो अभियानले संविधान संशोधन गरेर मुलुकको राजनीतिक समस्या समाधानमा सहयोग पुर्यानउने उनको विश्वास छ।
संविधानमा तराई-मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि संविधान संशोधनको अन्तिम तयारी भइरहेका बेला नेता पौडेल मंसिर १ देखि एकसाता लामो तराई यात्रामा छन्।