PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

'लिखे'का लेखकले एकसाथ ल्याए उपन्यास र काव्यकृति



पहिलोपोस्ट

'लिखे'का लेखकले एकसाथ ल्याए उपन्यास र काव्यकृति

काठमाडौं : प्रगतिशील साहित्यकार शरद पौडेलको दुई पुस्तक एकसाथ सार्वजनिक भएको छ।

सामाजिक उत्पीडित र दलित मुद्दामाथि लेखिएको उपन्यास 'तपन' र काव्यकृति 'तपसी मन' शनिबार राजधानीमा सार्वजनिक भएको हो। पुस्तकलाई वामपन्थी अभियन्ता सोनम साथीले विमोचन गरे। पौडेलले यसअघि प्रकाशन गरेको 'लिखे'कै अर्को खण्डको रुपमा तपन आएको हो।

उपन्यास तपनमाथि टिप्पणी गर्दै लेखक खगेन्द्र संग्रौलाले कम्युनिस्ट संगठन, यसको भाषा र संकेत नबुझ्नेलाई पुस्तक बोझिल लाग्न सक्ने बताए। 'लिखे उपन्यासको अर्को संस्करणका रुपमा निकै मोटो रुपमा आएको छ,' उनले भने, 'कतिले पढ्लान् र कस्ताले पढ्लान् भने र सोचिरहेको छु।' दलित बस्तीमा केन्द्रित भई लेखिएको र आञ्चलिकतालाई आत्मसात गरिएको भन्दै भन्दै उनले प्रशंसा पनि गरे।

पुस्तक हतारमा ल्याइएकाले सम्पादनमा केही समस्या देखिएको भन्दै लेखक संग्रौलाले थपे, 'राम्रोसँग गोडमेल नगरिएको फूलबारी जस्तै छ यो उपन्यास।'

अर्की टिप्पणीकार कवि सरिता तिवारीले आफू युवावस्थामा रहँदै लिखेको शृंखलाहरु पढेको स्मरण गर्दै त्यतिकै प्रभाव तपनले नदिएको बताइन्। जेलको परिवेशदेखि सुरु हुने उपन्यासले जनयुद्धको उत्कर्षकालदेखि संविधानसभाको निर्वाचनसम्मको कालखण्ड बोकेको भन्दै उनले सरसर्ती कथानक प्रस्तुत गरिन्। 'दलित आन्दोलन र तिनका संवेदना प्रमुखताका साथ उठाइएको छ। त्यो पुस्तकको महत्त्वपूर्ण पक्ष हो,' तिवारीले भनिन्, 'उपन्यासले नारीलाई मुख्य र सशक्त पात्रका रुपमा उभ्याएको छ।'

निम्नवर्गीय भुइँमान्छेका कथालाई मिहिन ढंगले उठाइएको उपन्यासलाई उनले 'पछिल्लो समयको कम्युनिस्ट दिग्दर्शन'को संज्ञा दिइन्। वामपन्थी आन्दोलनका प्राप्ति र यसको स्खलनलाई समेटेको उपन्यास संग्रहणीय हुने उनको भनाइ थियो।

अर्का वक्ता सोनम साथीले नेपाल उठाउने 'जग'हरुको कथा भए पनि तिनको अवस्था अहिले कस्तो भइरहेको छ? भन्दै प्रश्न उठाएका थिए।
काव्यकृति तपसी मनमाथि आफ्नो धारणा राखेका डा. सरोज धितालले एकै पटकमा सबै काव्य सक्नुभन्दा श्लोक-श्लोकमा घोत्लिएर मन्थन गर्न सके कविताले आनन्द दिने बताए। 'आफ्नो हितमा अरुलाई र अरुको हितमा आफूलाई जोड्ने शरदको कविता पनि त्यस्तै खालका छन्। यसले पाठकलाई एकाकार बनाउन सक्छन्,' धितालले भने।

दुई कृतिसँगै 'लिखे'को नयाँ संस्करण पनि आजै बजारमा आएको छ। सबै पुस्तकलाई सांग्रिला बुक्सले छापेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell