PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

ला लिगा : मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक, बार्सिलोना मालागासँग बराबरीमा रोकियो



पहिलोपोस्ट

ला लिगा : मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक, बार्सिलोना मालागासँग बराबरीमा रोकियो

क्रिस्टियानो रोनाल्डाले ह्याट्रिक गरेपछि ला लिगाको मड्रिड डर्बी म्याचमा रियलले सहरी प्रतिद्वन्दी एथ्लेटिकोलाई ३-० ले पराजित गरेको छ। जितसँगै लिग लिडर रियलले दोस्रो स्थानको बार्सिलोना माथि ४ अंकको अग्रता समेत बनाएको छ।

गएराती एथ्लेटिकोको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले २३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। 

पहिलो हाफमा एक गोलले पछि परेको एथ्लेटिकोको दोस्रो हाफमा खेलमा फर्कने प्रयास सफल हुन सकेन भने रोनाल्डोले दुई गोल थपे।
 
७१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ७७ औं मिनेटमा रोनाल्डोले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे। 

रोनाल्डोको यो करियरको ३९ औं ह्याट्रिक हो।

एथ्लेटिको माथि शानदार जित हासिल गरेसँगै १२ खेलबाट ३० अंक जोडेको रियल शीर्ष स्थानमा कायम छ।

डर्बी भिडन्त हुनु अघि बार्सिलोनालाई रियलमाथि अग्रता बनाउने मौका थियो। तर लियोनल मेसी र लुइस सुवारेज बिना मैदान उत्रेको बार्सिलोना घरेलु मैदानमै मालागासँग बराबरीमा रोकियो। 

मालागाले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेपनि बार्सिलोनाले गोल गर्न सकेन। मालागाका डिएगो लरेन्टले ६९ औं तथा हुवाँन कालोर्सले खेलको अन्त्यतिर सिधै रातो कार्ड बेहोरेका थिए। 

बराबरीपछि बार्सिलोनाको १२ खेलबाट २६ अंक भएको छ भने दोस्रो स्थानमा कायमै छ। बार्सिलोनालाई पछ्याइरहेको सेभियाले डेपोर्टिभा ला कुराना विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्यो।

दुई गोलले पछि परेको स्थिती उल्टाउँदै सेभियाले डेपोर्टिभालाई ३-२ ले हरायो। सेभियाको कमब्याक जितमा स्टेभेन एनजोन्जी, भिटोलो र गाब्रिएल मर्साडोले एक एक गोल गरे। जितपछि १२ खेलबाट २४ अंक जोडेको सेभिया तेस्रो स्थानमा उक्लेको छ। 

एक खेल कम खेलेको भियारियाल २२ अंकका साथ चौथो स्थानमा छ भने रियलसँग हारेको एथ्लेटिको २१ अंकका साथ पाँचौ स्थानमा छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell