
जर्मन बुण्डेसलिगमा यस सिजन वायर्न मयुनिखले पहिलो हार बेहोरेको छ। वायर्नलाई चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डले १-० ले पराजित गरेको हो।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन पियेर एमरिक औवामेयाङले गोल गरे।
खेलको ११ औं मिनेटमै औवामेयाङले गरेको गोल नै डर्टमण्डलाई ३ अंक दिलाउन र वायर्नलाई लिगमा सिजनको पहिलो हार चखाउन पर्याप्त रह्यो।
जितपछि ११ खेलबाट २१ अंक जोडेको डर्टमण्ड अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ।
पराजित वायर्न भने समान खेलबाट २४ अंकका साथ दोस्रो स्थानमै यथावत छ। यस सिजन अपराजित रहेको लेइपजिग २७ अंकका साथ शीर्ष स्थानमा छ।
यता बोरुसिया मोन्चेनग्लाडबाकलाई २-१ ले पराजित गर्दै एफसी कोलोग्ने चौथो स्थानमा उक्लेको छ। कोलोग्नेको पनि समान खेलबाट २१ अंक नै रहेको छ।
छैटौ स्थानमा रहेको अर्को अपराजित होफेनहेइमले आज ह्यामवर्गर एसभीसँग प्रतिस्पर्धा गर्दैछ।