PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

इटालियन सिरी ए : युभेन्ट्सको कीर्तिमानी जित, १६ वर्षे मोइस केनको डेब्यु



पहिलोपोस्ट

इटालियन सिरी ए : युभेन्ट्सको कीर्तिमानी जित, १६ वर्षे मोइस केनको डेब्यु

युभेन्ट्सले इटालियन सिरी ए मा पेस्कारालाई पराजित गर्दै घरेलु मैदानमा लगातार २३ लिग खेल जित्ने कीर्तिमान बनाएको छ।

सिरी ए मा गएराती भएको खेलमा लिग लिडर युभेन्ट्सले नवप्रवेशी पेरस्कारालाई ३-० ले पराजित गरेको हो। युभेन्ट्सका लागि सामी खेडिरा, मारियो मान्डुकिच र हर्नानेसले १/१ गोल गरे। 

गोलरक्षक जियानलुजी बुफोन, डिफेन्डरद्वय जर्जियो चिलेइनी र आन्द्रे बार्जाग्ली बिनै मैदान उत्रेको ओल्ड लेडी विरुद्ध नवप्रवेशी पेस्काराले दबाब सिर्जना गर्न सकेन।

जितसँगै १३ खेलबाट ३३ अंक जोडेको युभेन्ट्सले दोस्रो स्थानको रोमा विरुद्ध ७ अंकको अग्रता बनाएको छ। एक खेल कम खेलेको रोमाको २६ अंक छ र आइतबार अटलान्टासँग खेल्दैछ।

१६ वर्षे केनको डेब्यु

युभेन्ट्सको जितमा १६ वर्षे खेलाडी मोइस केनले पनि डेब्यु गर्ने अवसर पाए। गोलस्कोरर मान्डुकिचको स्थानमा प्रशिक्षक मासिमिलियानो अलेग्रीले ८४ औं मिनेटमा केनलाई मैदान प्रवेश गराएका थिए।

सन् २००० यता जन्मेर सिरी ए मा डेब्यु गर्ने केन पहिलो खेलाडी समेत बनेका छन्। केन इटालियन यु १९ टीमका स्ट्राइकर समेत हुन्।

२००० फेब्रुअरी २८ मा जन्मेका केनलाई प्रशिक्षक अलेग्रीले यसअघि ५ खेलमा बेन्चमा राखेपनि उनले खेल्ने अवसर पाएका थिएनन्। 

२००० यता जन्मेर युरोपको लिगमा डेब्यु गर्ने केन पहिलो खेलाडी भने होइनन्। तर विश्वका चार उत्कृष्ट लिग प्रिमियर लिग, ला लिगा, बुण्डेसलिगा र सिरी ए मा भने १६ वर्षमा डेब्यु गर्ने केन पहिलो खेलाडी बनेका छन्।

सेप्टेम्बरमा लक्जेमवर्गका भिनसेन्ट थिलले फ्रेन्च लिग वन मा १६ वर्षमा डेब्यु गरेका थिए। उनले लक्जेमवर्गका लागि ७ अन्तर्राष्ट्रिय खेल समेत खेलिसके भने गत मे मा नाइजेरिया विरुद्ध गोल समेत गरेका थिए। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell