PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​सांसदले गरे आफ्नै सुविधा बढाउने विधेयक फास्टट्रयाकमा पास : बढ्यो तलब, भत्ता पाँच गुणा बढी



मनोज सत्याल

​सांसदले गरे आफ्नै सुविधा बढाउने विधेयक फास्टट्रयाकमा पास : बढ्यो तलब, भत्ता पाँच गुणा बढी

काठमाडौँ :  सांसदहरुले आफ्नै सेवा सुविधा बढाउने विधेयकलाई आज संशोधनसहित पारित गरेका छन्।  विधेयकमा सांसदहरु, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ। 

सामान्यतया विधेयकहरुलाई संसदीय समितिमा पठाएर छलफल गरेर पास गर्नुपर्नेमा सभामुख ओनसरी घर्तीले प्राथमिकतामा राखेर फास्टट्रयाकबाट सीधै संसदको पूर्ण बैठकमा छलफल गराई निर्णयार्थ पेश गरेकी हुन्। 

सरकारले प्रस्ताव गरेको विधेयकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राखेको संशोधन पारित भएको हो। 

सरकारले सांसदको दैनिक बैठक भत्ता ५ सय रुपैयाँमात्र प्रस्ताव गरेकोमा अब १ हजार हुने संशोधन पास भएको हो। अहिले बैठक भत्ता २ सय रुपैयाँमात्र रहेको छ। संसदको बैठक र संसदीय समितिको बैठक बस्ने दिन सांसदहरुले अब पाँच गुणा बढी हजार रुपैयाँ भत्ता पाउने छन्। 

त्यसैगरी सांसदहरुले बढेको घरभाडा भत्ता गएको साउन महिनादेखि नै लागू हुने गरी पाउने छन्। 

यसैगरी प्रस्तावित विधेयकमा रहेको हिँड्दा २५ सय रुपैयाँ पाउने भत्ता काटेर संसदमा १० जनाभन्दा बढी सांसद भएका दलको प्रमुख सचेतकले सवारी सुविधा पाउने विधेयक पास भएको छ। 

‘बढी भए फिर्ता गरे हुन्छ’

संशोधन प्रस्ताव राख्ने कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सांसदलाई सेवासुविधा बढाउन नहुने विषयमा संसदमा चर्को भाषण भए पनि वास्तवमा सुविधा सांसदहरु कसैलाई नपुगेको जिकिर गरे। उनले चुनौति दिए- बढी हुने सांसदहरुले फिर्ता गरे हुन्छ। श्रेष्ठले ९८ प्रतिशतलाई सेवासुविधा नपुगेको र ५२ सालदेखि तलब नबढेको तर महँगी आकाशिएको बताए। 

के के अस्वीकृत भए? 

राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिककी सांसद सीमाकुमारी बिकले सांसदहरुलाई पेन्सन र दसैँमा पेश्की दिनुपर्ने संशोधन राखे पनि अस्वीकृत भयो। 

त्यसैगरी डा. सुबोधकुमार पोखरेलले सांसदहरुलाई औषधोपचारका लागि बीमा गर्ने र बडीगार्ड राख्नुपर्ने भनी राखेको संशोधन प्रस्ताव पनि अस्वीकृत भयो। 

यसैगरी सांसद प्रेम बहादुर सिंहले सांसदहरुलाई एक कार्यकालमा भन्सार छुटमा एक सवारी साधन खरिद गर्न सक्ने र त्यसरी खरिद गरिएका साधन मृत्यु भएको अवस्थामा बाहेक हक हस्तान्तरण गर्न नपाइने व्यवस्था गर्न राखेको संशोधन पनि अस्वीकृत भयो। 

कति बढ्दैछ सांसदको सुविधा?

विषय पहिले अहिले 
पारिश्रमिक ४४,१८० ५५,२३०
बैठक भत्ता २०० १०००
महंगी भत्ता १००० १००० (विशेष भत्ता)
आवास ६५०० १८,०००
फर्निचर (कार्यकालभर) १५,००० १५,०००
     
पत्रपत्रिका/टेलिफोन २,३०० ३,००० (इन्टरनेट र सञ्चार)
परिवहन भत्ता/यातायात १५० १,०००
बिजुली धारा १,२४८ २,०००
        

त्यस्तै सभामुख उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहित पदाधिकारीहरुको समेत सुविधा बढाउन प्रस्ताव विधेयकमा गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell