बोगोटा : कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोसले रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)सँग भएको संशोधित शान्ति सम्झौता पारितका लागि संसद्मा पेस हुने शनिबार बताएका छन्।
पहिलो शान्ति सम्झौता गत अक्टोबर २ मा जनमतसङ्ग्रहबाट अस्वीकृत भएपछि सरकार पक्ष र विद्रोहीपक्ष तत्काल वार्तामा बसेर दुवै पक्ष संशोधित सम्झौता बनाएका हुन्।
विपक्ष दलका नेता तथा पूर्वराष्ट्रपति एल्भारो उरिबेले पहिलो शान्ति सम्झौताले विद्रोहीले विगतमा गरेका अपराधप्रति जवाफदेही नबनाएको भन्दै विरोध गर्दै आएका थिए।
उरिबेले पहिलेदेखि नै अर्को सम्झौता गर्न संसद्मा बोल्ने क्रममा सुझाव दिँदै आएका थिए।
'म पूर्ण रुपमा उहाँसँग सहमत भइसकेको छु, आगामी बुधबार यो प्रस्तावलाई म संसद्मा पेस गर्नेछ। त्यही छलफल हुने छ,' उनले भने।
सान्तोसले प्रतिपक्षी दलले उठाएका विषयवस्तुलाई सम्झौतामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा फार्कसँग परामर्श भइरहेको बताए।
दुवै तर्फका प्रमुख विषयवस्तुलाई समेटेर जतिसक्दो चाँडो सम्झौतालाई अन्तिम रुप दिन चाहिरहेको सन्तोषको भनाइ छ।
यही महिनाको सुरुमा कोलम्बिया सरकार र फार्क विद्रोहीले नयाँ शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। कोलम्बियामा झन्डै ५० वर्षसम्म भएको द्वन्द्वका कारण झन्डै दुई लाख ६० हजार जनाको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए। रासस/सिन्ह्वा