PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

यस्ता छन् दलहरुले महाभियोग छलफल लम्ब्याउनुको चार कारण



मनोज सत्याल

यस्ता छन् दलहरुले महाभियोग छलफल लम्ब्याउनुको चार कारण

काठमाडौँ : अख्तियार प्रमुख लोकमानसिंह कार्की माथिको महाभियोग छलफल थप पछि सरेको छ। सभामुख ओनसरी घर्ती आजै राति एक साताका लागि रुस भ्रमणमा जाने भएपछि छलफल समेत सरेको हो। घर्तीले संसद बैठक आउँदो १४ गते १ बजेसम्मका लागि स्थगित गरेकी हुन्।
लोकमानसिंह कार्की माथि महाभियोग दर्ता भएको एक महिना बितिसक्दा पनि संसदमा पाँच पटक मात्र छलफल भएको छ।

सभामुख घर्तीले शुक्रबार महाभियोगको छलफल आइतबार टुङ्ग्याउने बताएकी थिइन्। तर उनले छलफल टुङ्ग्याउने भन्दा पनि सांसदको सुविधा सम्बन्धि विधेयकलाई प्राथमिकतामा राख्दै टुङ्गो लगाइन्। फास्टट्र्याकमा सांसदको सुविधा वृद्धिको निर्णय गर्दै घर्तीले महाभियोग छलफललाइ कार्यसूची पछाडि धकेलेकी थिइन्।

आइतबार सांसदहरु टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले छलफल गरेपछि उनले संसद बैठक रोकेकी हुन्। महाभियोग माथिको छलफलमा ढिलाइ भएको विषयमा सांसदहरुले समेत आश्चर्य प्रकट गर्दै आएका छन्।

 

किन सर्‍यो छलफल?

महाभियोग सिफारिस समितिका सदस्य समेत रहेका राप्रपा नेपालमा प्रमुख सचेतक दिलनाथ गिरी प्रमुख दलका शीर्ष नेताको 'इन्ट्रेस्ट'मा महाभियोग अगाडि बढाउन नखोजिएको बताउँछन्। 'लोकमानसिंह कार्कीलाई महाभियोग सिफारिस समितिमा स्पष्टिकरणका लागि बोलाउँदा उनले दिनसक्ने अभिव्यक्तिले माहौल चेन्ज हुनसक्छ भन्ने दलका नेताहरुलाइ परेको छ', उनले पहिलोपोस्टसित भने।

त्यसो त नेपाली कांग्रेस महाभियोगको पक्ष र विपक्षमा विभाजित छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाभियोग र संविधान संशोधन दुवैमा राजनीतिक सहमति खोज्ने बताउँदै आएका छन्। सत्तारुढ कांग्रेस र एमाओवादी संविधान संशोधनमा एमाले विपक्षी बन्नसक्ने देखेर दुवैलाई एकसाथ अगाडि बढाउने तयारीमा छन्। प्रमुख तीन दलको बैठकमा समेत दलहरुबीच महाभियोग र संविधान संशोधनमा एकसाथ छलफल हुँदै आएको छ।

 
लोकमानसिंह कार्की विरुद्ध गत कात्तिक ३ गते संसदमा महाभियोग दर्ता भएपछि उनी निलम्बित अवस्थामा छन्। तर राजनीतिक दलहरु महाभियोग अगाडि बढाउनु भन्दा कार्कीको राजीनामाको पर्खाइमा छन्। 'उहाँले राजीनामा दिए सहज हुन्थ्यो, कांग्रेस ढिला चाँडो सहमतिमा त आउला र महाभियोग अगाडि बढ्ला तर राजीनामा दिए हुने भन्ने छ', नेकपा माओवादीका एक हेडक्वाटर सदस्यले भने।
 
संसद बैठक लामो समय स्थगित गर्नुको पछाडि अदालतसँग टाइ अप गर्ने राजनीतिक दलहरुको प्रयास पनि अर्को कारण हो। यसअघि सभामुखले महाभियोग छलफल रोकेर तिहारको समयमा संसद बैठक १५ दिन सारेकी थिइन्। एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार अदालतसँग समय म्याच गर्ने कोसिस भएको हो। अदालतमा कार्कीको योग्यता सम्बन्धि मुद्दामा आउँदो १६ गते सुनुवाईको पेशी तोकिएको छ।

सभामुखले संसद बैठक आउँदो १४ गतेका लागि सार्नुले पनि दलहरु १६ गतेसम्मको अदालतको पेशी कुरेर बसेको देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell