
इलाम : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गरेका छन्।
आर्थिक वर्ष ०७३/०७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरे अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद नेम्वाङले बजेट कार्यान्वयनका निम्ति २४ वटा योजना पेस गरेका हुन्।
उनले जिल्लाको पश्चिमी क्षेत्रका आमचोक, फुएतप्पा, लुम्दे, गजुरमुखी इभाङको ग्रामीण विद्युतीकरणका लागि रु ५० लाख विनियोजन गरेका छन्। बाँझो–२, चुलाचुली–८ र साकफाराको तोरीबारीको विद्युतीकरणमा रु १५ लाख विनियोजन गर्नुभएको छ। त्यसबाहेक उहाँको रोजाइमा परेको धेरै सडकमा रु १० लाख विनियोजन भएका छन्। केही सडक मर्मतमा रु १५ लाख छुट्याइएको छ।
जितपुर–आमबोटे–देउमाइ नगरपालिका जोड्ने सडकका लागि रु १० लाख, प्रहरी चौकीको भान्साघर निर्माणका लागि रु १४ लाख, एकतप्पा–९ रुपटारमा निर्माणाधीन किराँत हाङसाम माङहिम (मन्दिर) निर्माणका लागि रु १० लाख, मङ्गलबारे बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि रु ११ लाख बजेट विनियोजन गरेका छन्। योजना छनोटमा अधिकांश सांसदको रोजाइमा सडकमा पर्ने गरेको छ।रासस