
डिएगो कोस्टाले गरेको एक मात्र गोलको मद्दतमा चेल्सी मिडल्स्ब्रोलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ।
गएराति भएको लिगको एक मात्र खेलमा चेल्सीले मिडल्स्ब्रोलाई उसैको मैदानमा १-० ले हरायो। चेल्सीलाई ३ अंक दिलाउन कोस्टाले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो।
जितसँगै १२ खेलबाट २८ अंक जोडेको चेल्सी लिभरपुल र सिटीमाथि १ अंकको स्पष्ट अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लेको हो।
१२ चरणको खेलसम्म चेल्सीले सबैभन्दा बढी ९ खेल जितेको छ। १ खेल बराबरी खेलेको चेल्सी २ खेलमा भने हारेको थियो। समान २७ अंक रहेको लिभरपुल र म्यानचेष्टर सिटी क्रमश: दोस्रो र तेस्रो स्थानमा छ।
चेल्सीसँग पराजित मिडल्स्ब्रो भने १२ खेलबाट ११ अंक जोड्दै १५ औं स्थानमा छ।
प्रिमियर लिग अन्तर्गत १२ औं चरणको अन्तिम खेलमा आज राति वेष्टब्रोमिच अल्विओनले घरेलु मैदानमा बर्नलेसँग खेल्नेछ।