
भियारियालले ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा उक्लने मौका गुमाएको दिन रियल सोसिडाड स्पोर्टिङ गिहोनलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लेको छ।
लिगा अन्तर्गत गएराती भएको खेलमा भियारियाल एथ्लेटिको विल्वाओसँग १-० ले पराजित भयो।
घरेलु मैदान विल्वाओलाई जित दिलाउन राउल गार्सियाले ६८ औं मिनेटमा एक मात्र गोल गरे। विल्वाओविरुद्ध जित हात पारेको भए भियारियाल सेभियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लने थियो।
हारका बाबजुत पनि १२ खेलबाट २२ अंक जोडेको भियारियाल चौथो स्थानमा कायमै छ। जितसँगै ३ अंक जोडेको विल्वाओ २० अंकका साथ सातौं स्थानमा उक्लेको छ।
अर्को खेलमा रियल सोसिडाड स्पोर्टिङ गिहोनलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लेको छ। गिहोनको घरेलु मैदानमा भएको खेलमा सोसिडाड ३-१ ले विजयी भएको हो।
सोसिडाडको जितमा ज्याभिएर प्रिटो, डेभिड जुरुटुजा र एनिगो मार्टिनेजले १/१ गोल गरे। गिहोनका लागि डुजे कोपले सान्त्वना गोल फर्काए।
जितपछि १२ खेलबाट २२ अंक जोडेको सोसिडाड एथ्लेटिको मड्रिडलाई पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ।
भियारियाल समान २२ अंक रहेपनि सोसिडाड गोल अन्तरमा पछि परेको हो। २१ अंक रहेको एथ्लेटिको भने छैटौं स्थानमा झरेको छ।
ला लिगाका अन्य खेलमा स्पानयोलले अलाभेजलाई १-० ले पराजित गरेको छ भने भ्यालेन्सिया र ग्रानाडाले १-१ गोलको बराबरी खेलेका छन्।