
नेपालगन्ज : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन्।
प्रेस चौतारी, बाँके शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन केका लागि भन्दै त्यसको औचित्य पुष्टि हुनुपर्ने जिकिर गरे। राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न नपाइने उनको भनाइ थियो।
नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्रम फैलाउन खोजिएको पनि बताएका छन्। 'कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुनै सक्दैन,' उनले भने।
सबै नेपाली जनताको माग र मुलुकको आवश्यकता स्थानीयदेखि केन्द्रीय तहसम्मको निर्वाचन भएकाले संविधान कार्यान्वयनका लागि सबैभन्दा पहिले निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।
'मुलुकले अहिले शान्ति खोजेको छ, राजनीतिक स्थिरता खोजेको छ,' उनले भने 'आर्थिक समृद्धि र विकास खोजेको छ, तसर्थ यी एजेन्डामा सबै राजनीतिक दल सहमतिमा आउनुपर्छ।'रासस