पर्सा : सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सबैलाई समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन्।
सङ्घीय समाजवादी फोरम पर्साले आज अयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानलाई संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताए।
केही वर्ग र जातलार्ई मात्र अधिकार सम्पन्न बनाएको वर्तमान संविधानलाई संशोधन गरी मधेसी, महिला, मुस्लिम, आदिवासी जनजाति, दलित र विभेदमा पारिएका सबैलाई समान अधिकार प्रदान गरे संविधान कार्यान्वयन हुने नेता यादवको दाबी थियो।
मधेसको मुद्दालाई ओझेलमा पार्न केही दलहरुले अङ्गीकृत नागरिकताबारे भ्रम सिर्जना गरेको पनि अध्यक्ष यादवले बताए।
नेपालमै जन्मिएका व्यक्तिमात्र नेपालको राष्ट्र प्रमुख हुनुपर्ने आफूहरुको मान्यता रहेको प्रस्ट गर्दै उनले अङ्गीकृत नागरिकलाई अन्तरिम संविधानमा उल्लेख भएअनुसारको अधिकार दिनुपर्ने धारणा राखे।
अध्यक्ष यादवले सरकारले मधेसी मोर्चासँग कुनै सल्लाह नै नगरी चारबुँदे संशोधन प्रस्तावको हल्ला फिँजाएको आरोप लगाए। ‘प्रचारमा आएजस्तो चारबुँदे संशोधन प्रस्तावले कुनै समस्या समाधान नगर्ने भएकाले त्यसलाई मोर्चाले स्वीकार गर्दैन,’ उनले भने।
तराई मधेसको भू–भागलाई नछुट्ने गरी राज्य पुनःसंरचना हुनुपर्ने र पहिचान र सामर्थ्यका आधारमा प्रान्तको सीमा निर्धारण हुनुपर्ने उनको भनाइ थियो।