PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

चौथो पटक तोकियो सातौं राष्ट्रिय खेलकुदको मिति, अब पुस ८ देखि १५ सम्म हुने



पहिलोपोस्ट

चौथो पटक तोकियो सातौं राष्ट्रिय खेलकुदको मिति, अब पुस ८ देखि १५ सम्म हुने

काठमाडौं : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न चौथो पटक मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपको १०७ औं बोर्ड बैठकले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरेको छ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीको अध्यक्षतामा सोमबार सातदोबाटोमा बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद पुस ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन्।

पछिल्लो पटक सातौं राष्ट्रिय खेलकुद यहि मंसिर ८ देखि १५ गतेसम्म हुने भनिएको थियो। तर गत वर्ष पनि दुई पटक मिति तोकेर प्रतियोगिता गर्न नसकेको राखेपले चौथो पटक मिति तय गरेको हो।

सातौं राष्टिय खेलकुद आयोजना गर्न पहिलो पटक २०७२ मंसिर ११ देखि १८ गतेको मिती तोकिएको थियो। दोस्रो पटक गत वर्षकै फागुनमा गर्ने भनिएको थियो तर हुन सकेन।

यस्तै बैठकले क्षेत्रीय छनोट प्रतियोगिताको नयाँ मिति पनि तोकेको छ। क्षेत्रीय छनोट यही मंसिर २० देखि २८ गतेसम्म हुने भएको छ। यसअघि क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेलाई तय भएपनि विधिध कारणवश रोकिएको थियो।

क्षेत्रीय छनोट सकिएलगत्तै राष्ट्रिय प्रतियोगितालाई छनोट भएका खेलाडीको बन्द प्रशिक्षण सुरु गरिने पनि बताइएको छ।

सातौं राष्ट्रिय खेलकुद सम्बन्धी सम्पूर्ण अधिकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई प्रदान गर्ने निर्णय भएको प्रेस सल्लाहकार दाहालले जानकारी गराए। पछि बस्ने परिषद्को बोर्ड बैठकले निर्णयलाई अनुमोदन गर्ने गरी सदस्य–सचिव विष्टलाई अधिकार दिइएको हो। 

त्यस्तै बैठकले सातौंलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण ध्यान सातौंमा केन्द्रीत गर्ने र सातौंपछि नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा लाग्ने निर्णय समेत गरेको छ।

बैठकमा खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहाल, सह–सचिव चूडामणि पौडेल, बोर्ड सदस्यहरु, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell